सङ्घ सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला

 पुस १३, २०८० शुक्रबार १०:५४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सङ्घ र प्रदेशबीच अधिकारका विषयमा विवाद बढिरहेका बेला सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला मकवानपुरको हेटौँडामा शुरु हुँदैछ ।

आज शुक्रवार मुख्यमन्त्रीहरूको भेला हुनुअघि हिजो बिहीवार गाउँपालिका राष्ट्रिय महासङ्घ, नगरपालिका महासङ्घ, बाग्मतीसहित अरू प्रदेशका सचिवहरूसँग अधिकारबारे छलफल भएको छ । हेटौँडामा भएको ‘तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रममा पालिकाका जनप्रतिनिधिले सङ्घ सरकारको दोहोरो भूमिकाले अधिकार नपाएको गुनासो गरेका थिए । संविधानमै उल्लेख भएका केही अधिकार नपाउँदा विकासमै बाधा पुगेको उनीहरूको भनाइ थियो ।

पालिकाका जनप्रतिनिधिको कुरा सुनेपछि आज सात वटै प्रदेशका मुख्यमन्त्रीहरू भेला हुन लागेका हुन् ।

गएको असारमा पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तरप्रदेश बैठकले छ महिनाभित्र सङ्घीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउने, जनशक्ति व्यवस्थापन र राष्ट्रिय तथ्याङ्कको एकीकृत अभिलेख प्रणाली विकास गर्ने, साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानुन निर्माणमा सहकार्य गर्ने, प्रदेशले पाउने अधिकारलाई प्रत्यायोजन गर्ने लगायतका निर्णय गरेको थियो । तर सङ्घ सरकारले छ महिनाको अवधिमा यसबारे केही कदम नचालेपछि मुख्यमन्त्रीहरू भेला हुन लागेका हुन् । तहगत अधिकारमा स्पष्टता नहुँदा कार्यसञ्चालनमा अप्ठ्यारो भएको भन्दै मुख्यमन्त्रीहरूले आवश्यक कानुन निर्माणका लागि सङ्घीय सरकारलाई दबाब दिँदै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया