६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छ : अर्थमन्त्री महत

 पुस १३, २०८० शुक्रबार १४:०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताउनुभएको छ । 

शुक्रवार काठमाण्डौमा आयोजित काठमाण्डौ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताउनु भयो ।

उहाँले देशको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गर्नुभयो । सामाजिक सञ्जालमा नकारात्मक कुरा भए पनि तथ्यले देशको अर्थतन्त्र लयमा फर्किंदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो ।

हरेक क्षेत्रको आर्थिक गतिविधि बढेकाले देशको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको तर्क समेत गर्नुभयो । अर्थमन्त्री महतले तथ्यहरुलाई लिएर सकारात्मक छलफललाई अघि बढाउने हो भने देशको आर्थिक गतिविधिले अझ बढावा पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

अर्थमन्त्री महतले भन्नुभयो, ‘अहिले हाम्रो अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ । विदेशी रेमिट्यान्स पनि स्वदेशमा आइरहेको छ। बैंक ब्याजदर पनि धेरै छलफलपछि कम हुँदैछ । शेयर मार्केट पनि बढेको छ । जग्गाको कारोबार पनि बढेको छ । शेयर र जग्गामा अत्याधिक कारोबार हुँदा माग र आपूर्तिको बीचमा ठूलो असन्तुलन भयो । त्यसले गर्दा त्यहाँ शिथिलता आएको थियो । अब बिस्तारै लय पक्रिँदै छ । र, राजश्व पनि बिस्तारै बढ्न थालेको छ । आर्थिक गतिविधि बढ्न थालेको छ । अब निराशाको अवस्था चाहिँ छैन ।’

त्यस अवसरमा अर्थमन्त्री महतले सार्वजनिक पुस्तकालयहरुको व्यवस्थापनका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन समेत दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया