सङ्घीय ऐनलाई टुङ्गोमा पुर्याउँछु : प्रधानमन्त्री प्रचण्ड

 पुस १४, २०८० शनिबार १३:५:२२ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय कानुन निर्माणका लागि आफू गम्भीररूपमा लागिपरेको दाबी गर्नुभएकाे छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको सामूहिक छलफलमा उहाँले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रित भएकाे बताउनु भएकाे हाे । 

प्रधानमन्त्री प्रचण्डले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान सङ्घीयताको कार्यान्वयनमै रहेकाे दाबी समेत गर्नुभएकाे छ । 

उहाँले भन्नुभयो, 'तपाईँहरू सबै जानकार नै हुनुहुन्छ, मैले नै सङ्घीय गणतन्त्रको परिकल्पना गरी त्यसका निम्ति सङ्घर्ष गरेको थिएँ, त्यसलाई संविधानमा लिपिबद्ध गर्नसमेत भूमिका खेलेको छु, नेतृत्व लिएको छु, त्यसैले सङ्घीयता कार्यान्यवन मेरो सबैभन्दा ठूलो चासो र प्राथमिकताको विषय हो ।' उहाँले सङ्घीय संसदमा सहभागी सबै दललाई पनि सहमत गराएर सङ्घीयतालाई कायान्वयन गर्न खोज्दा केही समय लागेको बताउनुभयो ।

'वर्तमान सरकारले सङ्घीय निजामती ऐन, सङ्घीय शिक्षा ऐन, प्रहरी समायोजन ऐनलगायत सङ्घीयता कार्यान्वयनसम्बन्धी ऐन निर्माणका लागि द्रुत गतिका साथ काम गरिरहेको यहाँहरुलाई जानकारी नै छ', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'विधेयकहरू प्रस्तुत पनि भइसकेका छन्, अब छलफलको माध्यमबाट त्यसलाई निष्कर्षमा लैजान बाँकी छ । शीर्ष तहमा छलफल गरेर त्यसलाई टुङ्गो लगाउन थप पहल गर्नेछु ।'

सातै प्रदेशका मुख्यमन्त्रीले संविधानले व्यवस्था गरेका सङ्घीय अधिकार कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । मुख्यमन्त्रीहरूले नेपालको संविधानमा व्यवस्था भएका साझा अधिकार सूची प्रयोगको व्यवस्था मिलाउन तथा गएकाे असारमा पोखरामा सम्पन्न मुख्यमन्त्री सम्मेलनको निष्कर्षलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् । 

सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण नेपाल सरकार, सङ्घीय संसद् र राजनीतिक दलको साझा दायित्व भएकामा जोड दिँदै मुख्यमन्त्रीहरूले राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीले समन्वय गर्नुपर्नेमा जोड दिएका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया