कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार छान्दा अवसर नपाएकालाई प्राथमिकतामा राख्ने

 पुस १५, २०८० आइतबार ७:३०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसले आउँदो राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवार छनोट गर्दा अहिलेसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

हिजो अबेर सकिएको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीमा लामो समयसम्म योगदान पुर्याएका तर अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस १२ गतेदेखि बैठक बसेको थियो । बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको निश्चित मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आउँदो माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

पार्टीमा पटक पटक अवसर पाएका, गएको चुनावमा उम्मेदवार भएर पनि पराजित भएका तथा समानुपातिकतर्फ उम्मेदवार बनेका नेताहरुले राष्ट्रिय सभामा इच्छा देखाएपछि बैठकमा नेताहरुले नयाँ अनुहारलाई अवसर दिनुपर्ने माग गरेका थिए ।

केन्द्रीय सदस्यहरुको दबाबपछि बैठकले अवसर नपाएका नेताहरुलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो । त्यस्तै, सरकारको एक वर्षको कामलाई लिएर कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारमा सहभागी आफ्नो दलका मन्त्रीहरुको कार्यशैलीप्रति केन्द्रीय सदस्यहरुले खुलेर आलोचना गरेका छन् ।

सुशासनको क्षेत्रमा देखिएका केही समस्यालाई केन्द्रीय समितिले उजागर गरेको र आम नागरिकका सुशासनको प्रत्याभूति हुने खालका सेवा प्रदान गर्न बैठकले सरकारसँग माग गरेको छ ।

शुक्रवार ललितपुरको बालकुमारीमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न, घाइतेको उपचार गर्न र परिवारजनमा परेको क्षतिका बारेमा विशेष निर्णय लिन बैठकले माग गरेको नेता विश्वकर्माले बताउनुभयो ।

बैठकले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि एक हजार अस्थायी आवास निर्माण सम्पन्न भएकोमा सबै नेता कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया