'ग्राउन्ड ह्यान्डलिङ' काे कुरा नउठाउन कर्मचारीलाई मन्त्री किरातीकाे निर्देशन

 पुष १५, २०८० आइतबार १५:२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङकाे विषयमा कुनै पनि कुरा नउठाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आज आइतवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा मन्त्री किरातीले ग्राउन्ड ह्यान्डलिङको विषयमा कर्मचारीले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङको विषय सरकारको निर्णयको कुरा भएको भन्दै कर्मचारीले अनावश्यक कोकोहोलाे गर्नु आवश्यक नभएको बताउनुभयो ।

मन्त्री किरातीले देशलाई वायु सेवा निमग चाहिने र त्यसलाई बचाउनका लागि ग्राउन्ड ह्यान्डलिङ पनि चाहिने स्पष्ट पार्नुभयो । कर्मचारीले यस विषय उठाएमा नीति र नेतृत्वमाथिको हस्तक्षेप हुने उल्लेख गर्दै मन्त्री किरातीले कुरा उठाएमा राम्रो नहुने चेतावनीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘वायु सेवा निगमको बारेमा विना प्रसङ्ग किन बढी कुरा उठ्छन् ? के तपाईँ (कर्मचारी) हरू नीति निर्माता हो ? पटक–पटक तपाईँहरू किन वायु सेवा निगमको कुरा उठाउनुहुन्छ यहाँ ? निगमले ग्राउन्ड ह्यान्डलिङ लिने कि नलिने भन्ने प्रश्नमा किन तपाईँहरू ठूलो–ठूलो धुवाँ उडाउनुहुन्छ ? कोकोहोलो गर्नुहुन्छ ? आजदेखि बन्द गर्नुहोस् । यो प्रधानमन्त्रीको सरोकारको कुरा हो । देशका सबै ठूलो राजनीतिक दलहरूको सरोकारको कुरा हो । वायु सेवा निगम अहिले चाहिन्छ । त्यसलाई बचाउनका निम्ति ग्राउन्ड ह्यान्डलिङ चाहिन्छ ।’

मन्त्री किराती कर्मचारी ट्रेड युनियनका नेताहरूमाथि समेत आक्राेशित हुनुभयाे । उहाँले कर्मचारीले धेरै नीतिगत कुरा गरेको भन्दै भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री हो कि जस्तो लागेको भनेर व्यङ्ग्य गर्नुभयो । उहाँले नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्रीहरूले गर्ने भन्दै नेतृत्वले बनाएको नीतिमा कर्मचारी  हिँड्नुपर्ने बताउनुभयो ।

मन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणको तीन वटा तत्कालीन कार्यभार रहेको बताउनुभयो । यात्रुको सुरक्षा गर्नु पहिलो कार्यभार रहेको उल्लेख गर्दै उहाँले ईयूकाे कालोसूचीबाट हटाउन सुधार गर्नुपर्ने १२ बुँदा अक्षरशः पालना गर्नुपर्ने दोस्रो कार्यभार रहेको बताउनुभयो । त्यस्तै यात्रुमैत्री वातावरण बनाउनु तेस्रो कार्यभार रहेको उहाँको भनाइ छ ।

मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा र निजगढको विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गरिने पनि बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया