बालकुमारी घटना छानबिनका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने

 पुस १५, २०८० आइतबार १६:४३:१ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले ललितपुरको बालकुमारीमा शुक्रवार भएकाे घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोग गठनका लागि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज आइतवार निर्देशन दिनुभएको हो । गृह मन्त्रालयले आयाेग गठनसम्बन्धी प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा पेस गर्नेछ ।

भाेलि सोमवार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनसम्बन्धी औपचारिक निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा २ बमोजिम आयोग गठन हुने उहाँको भनाइ छ । आयोगले सोमवारदेखि नै काम गर्नेछ ।

मन्त्री ज्वालाले पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन आयोग गठन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले आवश्यक निर्देशन दिइसक्नुभएको छ । भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारेमा आवश्यक निर्णय गर्नेछ ।’

बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको ज्यान गएकाे थियो । साथै मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी भएको थियो ।

गृह मन्त्रालयले त्यही दिन नै बालकुमारी घटनाको छानबिनका लागि एक समिति गठन गरिसकेको छ । सरकारले शनिवार मात्रै ललितपुरका प्रहरी प्रमुख, ललितपुरका प्रमुख जिल्ला अधिकारी र ईपीएस कोरिया शाखाका प्रमुखलाई छानबिन नसकिँदासम्मका लागि निलम्बन गरिसकेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया