माेदीविरुद्ध आपत्तिजनक टिप्पणी गर्ने माल्दिभ्सका ३ जना मन्त्री निलम्बित, भारत–माल्दिभ्स सम्बन्धमा समस्या

 पुस २३, २०८० सोमबार १८:४:३२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

माल्दिभ्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा टिप्पणी गर्ने तीन जना मन्त्रीलाई निलम्बन गरेको छ । उनीहरूले सामाजिक सञ्जाल पोस्टमा प्रतिक्रिया दिँदै मोदीलाई विदूषक, आतङ्ककारी र इजरालयको कठपुतली भएको बताएकाले निलम्बनमा परेका बीबीसी हिन्दीले जनाएको छ ।

तीनै जनाले सामाजिक सञ्जाल 'एक्स' मा मोदीको पोस्टमा प्रतिक्रिया लेख्दै अपमानजनक टिप्पणी गरेका थिए । निलम्बित हुनेमा मल्शा शरीफ, मरियम शिउना र अब्दुल्ला महजूम मजिद छन् । शिउनाले भारतलाई गाईको गोबरसँग पनि तुलना गरेकी थिइन् । धेरै चर्चा भएपछि ती मन्त्रीहरूले आफ्ना विवादित पोस्ट मेटेका छन् । राष्ट्रपति मोहम्मद मुइज्जूको कार्यालयका प्रवक्ताले भारत र भारतीय प्रधानमन्त्रीविरुद्ध टिप्पणी गर्ने सबै अधिकारीलाई तत्कालै लागू हुने गरी निलम्बन गरेको जानकारी दिनुभएको बीबीसीको खबरमा उल्लेख छ ।

मन्त्रीहरूको टिप्पणीले भारतीय सामाजिक सञ्जालमा खैलाबैला मच्चाएपछि माल्दिभ्स सरकारले मन्त्रीहरूलाई निलम्बन गरेको हो । मोदीबारे टिप्पणी गरिएको भोलिपल्ट भारतले माल्दिभ्सका उच्चायुक्तलाई स्पष्टीकरण दिन बोलाएको छ ।

गएको वर्ष सत्तामा आउनुभएका राष्ट्रपति मुइज्जूले भारतीय सैनिकलाई माल्दिभ्स छाड्न आग्रह गरेपछि भारत र माल्दिभ्सबीच तनाव उत्पन्न भएको थियो । माल्दिभ्सका मन्त्रीहरूको टिप्पणीपछि केही भारतीयहरूले माल्दिभ्समा बिदा मनाउन जाने आफ्नो योजना रद्द गर्ने घोषणा गरेका छन् । गएको वर्ष माल्दिभ्स जाने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय थिए । माल्दिभ्सका पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले तीन अधिकारीहरूले भारतविरुद्ध घृणायुक्त भाषा प्रयोग गरेको भन्दै कडा निन्दा गर्नुभएको छ ।

चीनसँग नजिक भनिएका मोहम्मद मुइज्जू राष्ट्रपतिमा निर्वाचित भएदेखि नै भारत–माल्दिभ्स सम्बन्धमा समस्या देखिएको छ । यसअघि माल्दिभ्सका राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक भारत भ्रमण गर्ने गरेकामा मुइज्जूले टर्कीबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण शुरु गर्नुभएको थियो । चारत र चीन दुवैले रणनीतिक अवस्थिति भएका माल्दिभ्सका टापुहरूमा आफ्नो वर्चस्व कायम गर्ने प्रतिस्पर्धा गरिरहेका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया