अन्नपूर्ण संरक्षण क्षेत्रमा १ सय ३५ मेगावाटकाे मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना बन्दै

 माघ १४, २०८० आइतबार १९:८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – एकपछि अर्को संरक्षण क्षेत्रमा जलविद्युत् आयोजना निर्माणको लहर चल्न थालेको छ । अब हिमाली जिल्ला मनाङमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरी जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा नै १ सय ३५ मेगावट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गएकाे ९ गते बसेकाे मन्त्रिपरिषद्को बैठकले जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा दिने निर्णय गरेकाे आयोजनाका प्रबन्धक प्रतीक महर्जनले जानकारी दिनुभयो ।

आयोजना निर्माणका लागि मनाङको सदरमुकामसमेत रहेको चामे गाउँपालिकाको १, २, ३ र ५ र नासोँ गाउँपालिकाको ८ र ९ नम्बर वडामा जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाइएको आयोजनाका प्रबन्धक एवम् बुटवल पावर कम्पनी (बीपीसी) का प्रबन्धक महर्जनले बताउनुभयो ।

मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन वटा चिनियाँ कम्पनीबीच गएको वर्षको पुसमा सम्झौता भएको थियो । चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको महर्जनले बताउनुभयो । आयोजनामा नेपाली साझेदार बीपीसीले २० प्रतिशत र तीन वटा चिनियाँ कम्पनीको संयुक्तरूपमा ८० प्रतिशत शेयर स्वामित्व रहनेछ । आयोजनाको लागत ३३ अर्ब ३८ करोड रुपैयाँ हुने अनुमान छ । मनाङ मर्स्याङ्दी आयोजनाले मनाङको चामे गाउँपालिकाको कोतोमा अर्धजलाशययुक्त बाँध र नासोँ–८ कम्लोमा 'पावर हाउस' बनाउनका लागि कार्यालय स्थापना गरिसकेको छ ।

यसअघि बाग्लुङको ढोरपाटन संरक्षित क्षेत्रमा पनि ८ सय २८ मेगावाट क्षमताको उत्तरगया जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढिसकेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया