एनसेलको शेयर खरिद–बिक्री स्वाभाविक सम्झौता मान्न नसकिने छानबिन समितिको निष्कर्ष

 माघ १६, २०८० मंगलबार ८:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेलको शेयर खरिद–बिक्री, अध्ययन तथा छानबिन समितिले एनसेलको शेयर खरिद–बिक्री सम्झौतालाई स्वाभाविक मान्न नसकिने निष्कर्ष निकालेको छ ।

समितिले आजियाटा र स्पेक्ट्रलाइट यूकेबीच भएको खरिद–बिक्रीलाई यथास्थितिमा कार्यान्वयन गर्न नहुने सुझाव सरकारलाई दिएको छ । डेढ महिनाको अध्ययनपछि पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गाल संयोजकत्वको पाँच सदस्यीय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हिजो प्रतिवेदन बुझाएको छ।

समितिका संयोजक टङ्कमणि शर्माले एनसेल शेयर खरिद बिक्रीमा अध्ययन गर्न बनेको समितिले थप छानबिन गर्नेगरी प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो । उहाँले एनसेलको पटक-पटक शेयर खरिद बिक्री हुँदा राज्यका कतिपय निकायले आफ्नो जिम्मेवारी पालना नगरेको देखिएकाले थप छानबिन गर्न सिफारिस गरिएको बताउनुभयो । उहाँले स्रोत नखुलेको सम्पत्ति प्रयोग भएको आशङ्का रहेको भन्दै संलग्नहरुमाथि सम्पत्ति शुद्धीकरणको पाटोमा अनुसन्धान गर्न सिफारिस गरिएको बताउनुभयो ।

एनसेलले नेपाल सरकारलाई बुझाउनुपर्ने ८५ अर्ब रुपैयाँ बराबरको कर छलि गरेको अध्ययनले देखाएको पनि उहाँले बताउनुभयो । उहाँले आजियाटा ग्रुप बर्हाड र स्पेक्ट्रालाइट यूकेबीच गएको डिसेम्बर १ तारिख अर्थात् मंसिर १५ मा भएको एनसेल आजियाटाको शेयर खरिद बिक्री सम्झौतालाई स्वाभाविक मान्न नसकिने तथा खरिदकर्ता कम्पनीको प्राविधिक क्षमता, लगानीको श्रोत र कम्पनीका सञ्चालकको व्यावसायिक पृष्ठभूमिका विषयमा अदालतका आदेशहरू समेतलाई अध्ययन गरी आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिएको बताउनु भयो ।

प्रतिवेदनमा ‘विभिन्न दृष्टिकोणबाट खरिदकर्ताको क्षमता विश्लेषण गर्दा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टि हुने कागजात पेस नगरेको देखिँदा यो शेयर खरिद–बिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएन’ भन्ने उल्लेख छ ।

समितिले एनसेल खरिदकर्ता स्पेक्ट्रलाइट यूकेको प्राविधिक क्षमतामाथि नै प्रश्न उठाएको छ । खरिदकर्ता कम्पनीको प्राविधिक क्षमता, लगानीको स्रोत र कम्पनीका सञ्चालकको व्यावसायिक पृष्ठभूमिलाई अध्ययन गर्नुपर्ने समितिको सुझाव छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया