कैलालीमा बिजुलीको महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालियो

 माघ १७, २०८० बुधबार ९:२०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - नेपाल विद्युत् प्राधिकरण कैलाली धनगढीले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको लाइन काट्न थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत अटेरी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न थालेको हो ।

धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ । ती सात कार्यालयले ६ लाख २ हजार ६ सय रुपैयाँ महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रको तथ्याङ्क छ ।

धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजारभन्दा धेरै ग्राहक रहेका छन् । विद्युत् प्राधिकरणले धनगढी र अत्तरियामा महसुल नबुझाउने दुई सय ५३ ग्राहकको लाइन काटेको जनाएको छ । महसुल नबुझाएका ग्राहकको बक्यौता रकम झण्डै एक करोड ५३ लाख ५० हजार रहेको वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलले बताउनुभयो । उहाँका अनुसार लाइन काट्न शुरु गरेपछि एक सय ८० ग्राहकले महसुल बुझाएका छन् । ती ग्राहकबाट ७८ लाख ३७ हजारभन्दा धेरै रकम असुली भएको छ ।

लाइन काटिएका सरकारी कार्यालयबाट एक लाख ४८ हजार महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिनुभयो । विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ ।

लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखेर असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको छ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया