क्यामरुन बन्याे औलाेविरुद्धकाे खाेप अभियान शुरु गर्ने पहिलाे देश

 माघ २२, २०८० सोमबार १५:६:५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अफ्रिकी देश क्यामरुन औलोविरुद्धको खाेप अभियान शुरु गर्ने पहिलो देश बनेको छ । अरू केही अफ्रिकी देशमा पनि परीक्षण र केही प्रयोग शुरु भए पनि अभियानकै रूपमा खोप लगाउने क्यामरुन पहिलो देश बनेको बीबीसीले जनाएको छ ।

यसअघि क्यामरुनसहित केन्या, घाना र मलावीमा गरेको परीक्षणबाट खोप प्रभावकारी र सुरक्षित पाइएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खोपलाई मान्यता दिएको छ । क्यामरुनले अर्को वर्षमा समेत गरेर छ महिनामाथिका साढे दुई लाख जना बालबालिकालाई औलोविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । तर अफ्रिकी देशहरूका अभिभावक बालबालिकालाई खोप लगाउन सजिलै तयार नहुने कारण अभियान चुनौतीपूर्ण रहेको छ ।

क्यामरुनमा प्रत्येक वर्ष ६० लाख मानिसमा औलो पुष्टि हुन्छ र तीमध्ये चार हजार जनाको ज्यान जाने गरेको छ । मृतकमध्ये धेरैजसो पाँच वर्षमुनिका बालबालिका रहेका छन् ।

विश्वकै पुरानोमध्येको एउटा रोग औलो विश्वमा बर्सेनि झन्डै २१ करोड ९० लाख जना मानिसलाई लाग्छ । वर्षमा झन्डै छ लाख २० हजार जनाको ज्यान लिने औलोबाट प्रायः पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित हुन्छन् । जाडो भएको अनुभव हुने, काम्ने, ज्वरो आउने र अत्यधिक मात्रामा पसिना आउनु औलोका लक्षण हुन् । उपचार हुन नसकेको अवस्थामा श्वासप्रश्वाससम्बन्धी समस्या र शरीरका अङ्ग नै काम नगर्न सक्ने अवस्था हुन्छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया