पाकिस्तानमा चुनावकाे पूर्वसन्ध्यामा बम विस्फाेट, कम्तीमा २२ जनाकाे ज्यान गयाे

 माघ २४, २०८० बुधबार १८:४:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानको बलोचिस्तान प्रान्तमा दुई वटा बम विस्फोट हुँदा कम्तीमा २२ जनाको ज्यान गएको छ । चुनावको पूर्वसन्ध्यामा भएको विस्फोटमा कति जना घाइते भए भन्ने विवरण आइसकेको छैन ।

पहिलो विस्फोट पिशिन जिल्लामा एक जना स्वतन्त्र उम्मेदवारको कार्यालय अगाडि र दोस्रो विस्फोट सफी उल्लाह जिल्लामा भएको बीबीसीले जनाएको छ । पाकिस्तानमा चुनावको अघिल्लो दिन भएको विस्फोटले धाँधली हुने सम्भावना बढेको खबरमा उल्लेख छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । बलाेचिस्तान सरकारले मतदान योजनाअनुसार अघि बढ्ने बताएको छ ।

भोलि हुने आमचुनावका लागि मौन अवधि शुरु भइसकेको छ । आमचुनावमा सहभागी हुने कुनै पनि उम्मेदवार र राजनीतिक दलले मौन अवधिमा बैठक, जुलुस, प्रचारलगायतका कार्यक्रममा भाग लिएमा कारबाही गर्ने पाकिस्तानको निर्वाचन आयोगले जानकारी गराएको छ । निर्वाचन आयोगले चुनाव सम्पन्न नभएसम्म सञ्चारमाध्यममा सबै प्रकारका मतदान सर्वेक्षणको प्रकाशन र प्रसारणमा पनि प्रतिबन्ध लगाएको छ ।

आयोगका अनुसार देशभर ९० हजार छ सय ७५ मतदान केन्द्र स्थापना गरिएको छ । चुनावमा एक सय ६७ राजनीतिक दल र स्वतन्त्र गरी पाँच हजार एक सय २१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

चुनावमा पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिगदेखि बिलवाल भुट्टो र आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टीसम्मले प्रतिस्पर्धा गर्दैछन् । इमरान खानको पाकिस्तान तहरीक–ए–इनसाफ पाटीको चुनाव चिह्न खारेज गरेका कारण यसका उम्मेदवार स्वतन्त्ररूपमा चुनावमा प्रतिस्पर्धा गर्दैछन् । पाकिस्तानमा १२ करोड ८५ लाख जना मतदाता छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया