साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेशन सञ्चालनमा

 फागुन १५, २०८० मंगलबार १६:१४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका नाै वटा सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले विद्युत् ग्रिड सबस्टेशनबाट वितरण सबस्टेशनसम्म विद्युत् पुर्‍याउन र वितरण सबस्टेशनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्‍याउन ३३ तथा ११ किलो भोल्ट (केभी) र ४ सय भोल्टका लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ । साथै वितरण ट्रान्सफर्म पनि जडान गरिएको छ ।

साउनदेखि अहिलेसम्म वितरणतर्फका ३३/११ केभी क्षमताका ९ वटा वितरण सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । यसबाट सबस्टेशन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुका साथै चुहावट पनि घटेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउन देशभरि नै वितरणतर्फका लाइन र सबस्टेशन निर्माण अभियानकै रूपमा चलिरहेको बताउनुभयो ।

‘विद्युत् नपुगेका ठाउँमा विद्युतीकरण गर्न र पुगेका ठाउँको आपूर्तिलाई सुधार गर्न वितरण प्रणालीको विस्तार र सुदृढीकरण व्यापकरूपमा गरिरहेका छौँ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘सङ्घीय राजधानी काठमाण्डाै उपत्यकासहित देशका प्रमुख शहर तथा औद्योगिक क्षेत्रको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय र भविष्यमा बढ्ने मागलाई सन् २०५० को समयमीमा निर्धारण गरी उच्चस्तरको भरपर्दो र विश्वसनीय विद्युतीय भार बोक्न सक्ने प्रसारण र वितरणतर्फका लाइन र सबस्टेसनहरू चरणबद्धरूपमा निर्माण अगाडि बढाइसकेका छौँ ।’

घिसिङले यसका लागि अहिले सञ्चालनमा रहेका प्रसारण तथा वितरण लाइन र सबस्टेशनको स्तरोन्नति तथा सुदृढीकरण र नयाँ प्रसारण लाइन र सबस्टेशनको निर्माण शुरु गरिएको बताउनुभयो ।

प्राधिकरणले इलामको पश्चिम क्षेत्र र पाँचथरमा विद्युत् आपूर्तिका लागि ३३/११ केभीको चिसापानी सबस्टेशन, मकवानपुरको बाग्मती तथा बकैया गाउँपालिकामा विद्युत् आपूर्तिका लागि क्षतिवन सबस्टेशन, म्याग्दीको मङ्गला, मालिका तथा धौलागिरि गाउँपालिकामा विद्युत् आपूर्तिका लागि दरबाङ सबस्टेशन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिका लागि बोझपोखरी सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत सबस्टेशन निर्माण गरिएको हो । आयोजनाअन्तर्गत देशभरि २५ वटा नयाँ सबस्टेशनको निर्माण र १२ वटा सबस्टेशनको स्तरोन्नति तथा वितरण सञ्जाल निर्माण अगाडि बढाइएको थियो । २५ वटा सबस्टेशनमध्ये ५ वटाको निर्माण अन्तिम चरणमा छ भने सबस्टेशनहरूको स्तरोन्नति सम्पन्न भइसकेको छ ।

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा मकवानपुरको मनहरि, सिन्धुलीको दुधौली, दोलखाको नाम्दु ललितपुरको उनिचौरमा वितरणतर्फको ३३/११ केभी सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । त्यस्तै विश्व बैंककै सहुलितपूर्ण ऋणमा रामछापको बाम्तीमा वितरण सबस्टेशन निर्माण गरिएको छ । यी सबस्टेशनहरूसम्म पुग्ने ३३ केभी प्रसारण लाइन र त्यहाँबाट विद्युत् आपूर्तिका लागि लाइनहरू पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया