राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय

 फागुन १६, २०८० बुधबार १५:४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । सत्ता गठबन्धनले राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई अघि सार्ने चर्चाकाबीच माओवादीले आफ्नै उम्मेदवार पठाउने निर्णय गरेको हो ।

माओवादीको स्थायी कमिटी बैठकमा हिजो धेरैजसो नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए । संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने छ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले कांग्रेस र माओवादी केन्द्र दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेका छन् ।

राष्ट्रिय सभा अध्यक्षको चुनाव यही फागुन २९ गते हुँदैछ । राष्ट्रिय सभा सदस्यका लागि गएको माघ ११ गते भएको चुनावबाट १९ जना विजयी भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यको कार्यकाल आउँदो २१ गते सकिँदैछ ।

राष्ट्रिय सभाको अध्यक्षमा पार्टीबाटै उम्मेदवारी दिने र आउँदो चुनावमा गठबन्धन नगरि एक्लै लड्ने पनि निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । बैठकले पार्टीको प्रदेश इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । पार्टीले गरेको कार्यविभाजनमा उपमहासचिव जनार्दन शर्माले असहमति व्यक्त गर्नुभएको छ । उहाँले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायतलाई जिम्मेवारीविहीन बनाइएकोमा असहमति रहेको बताउनुभयो ।

यस्तै माओवादी केन्द्रले मधेस/तराई राष्ट्रिय जागरण अभियान चैत १५ गतेदेखि र हिमाल–पहाड–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ । स्थायी कमिटी बैठकले मिटरब्याज पीडित, लघुवित्त पीडित र दुग्ध उत्पादक किसानकाे समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया