ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय समुदायलाई प्राधिकरणको आग्रह

 फागुन १८, २०८० शुक्रबार १८:१६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरूलाई आग्रह गरेको छ । नेपालको विद्युत् उत्पादन, प्रसारण र वितरणको विस्तार तथा सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्राधिकरणले नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्विट्जरल्यान्ड, बेलायत, अमेरिका, युरोपेली सङ्घ, विश्व बैंक र एसियाली विकास बैंकलाई सहायता बढाउन आग्रह गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ सूर्यबस्तीमा रहेको २ सय २० केभी नयाँ बुटवल सबस्टेशनको अनुगमन भ्रमणमा पुगेको टोलीलाई प्राधिकरणले ऊर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी) को सहुलितपूर्ण ऋणमा कालीगण्डकी करिडोर २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ बुटवल सबस्टेशन बनाइएको हो । नेपालको ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धिहरूको प्रशंसा गर्दै टोलीले थप लगानी बढाउने प्रतिबद्धता जनाएको थियो ।

नेपालमा जलविद्युत् उत्पादन, प्रसारण वितरणको अवस्था र भारत तथा बङ्गलादेशसँगको बिजुलीका विषयमा जानकारी दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आउँदाे पाँच/छ वर्षमा १२/१३ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेको बताउनुभयो ।

‘बिजुली उत्पादन बढाउन र प्रणालीको विस्तार तथा सुदृढीकरणका लागि आउँदाे पाँच/छ वर्षमा बिजुली उत्पादनतर्फ छ अर्ब डलर, प्रसारणतर्फ पाँच अर्ब र वितरणतर्फ दुई अर्ब डलरभन्दा बढी चाहिन्छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘देशभित्र बिजुली खपत बढाउने हाम्रो प्राथमिकता हो, यहाँ खपत गरी बढी भएको बिजुली मात्र छिमेकी देशहरूलाई बिक्री गर्ने हो, यसका लागि पूर्वाधार संरचना विस्तारका लागि ठूलो लगानी आवश्यक छ, लगानी बढाउन विकास साझेदाहरूलाई आग्रह गर्दछु ।’

विश्व बैंकका नेपाल, माल्दिभ्स तथा श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्वोसले बैंकको नेतृत्वमा १ हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् अयोजनामा लगानी गर्ने विषय अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले आयोजना कार्यान्वयनका क्रममा वातावरणीय तथा सामाजिक सुरक्षणका व्यवस्था कार्यान्वयनमा विशेष ध्यान दिइनुपर्नेमा जोड दिनुभयो ।

एडीबीका नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले नेपालको ऊर्जा क्षेत्रमा विगत ५० वर्षदेखि साझेदारी गरिरहेको उल्लेख गर्दै बैंकको नेतृत्वमा ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा सन् २०२४ भित्रमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको बताउनुभयो ।

अनुगमन भ्रमणमा पुगेकाे टोलीले सबस्टेशनको नियन्त्रण कक्षलगायतको अवलोकन भ्रमण गरी विद्युत् प्रसारण र वितरणको अवस्थाका बारेमा जानकारी लिएको थियो ।

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको बिजुली एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २ सय २० केभी डबल सर्किट प्रसारण लाइन र तीन वटा सबस्टेशन निर्माण गरिएको हो ।

कालीगण्डकी करिडोर २ सय २० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेशनबाट शुरु भई पर्वत, बाग्लुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नयाँ बुटवल सबस्टेशनसम्मको झन्डै एक सय ३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनले झन्डै २ हजार मेगावाट बिजुली भार बोक्न सक्नेछ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडीबीको एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो ।

भारतसँगको बिजुली व्यापारका लागि नयाँ बुटवल–गोरखपुर ४ सय केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि निर्माण गर्न गरिँदैछ । देशभित्र खपत गरी बाँकी भएको बिजुली त्यही प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिने छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया