सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त

 फागुन २६, २०८० शनिबार ६:३५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । अल्पमतमा पर्नु भएका उहाँले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त गर्नुभएको हो ।

नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलका नेता घनश्याम चौधरी र खुशीराम डङ्गौरा थारुले मन्त्रीको तथा इन्दिरा गिरीले राज्यमन्त्रीको शपथ ग्रहण गर्नुभएको छ । शुक्रवार राति ९ बजे प्रदेश प्रमुख देवराज जोशीले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।

घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । इन्दिरा गिरी कृषि राज्यमन्त्री हुनुभएको छ । खुशीराम डङ्गौरा थारुलाई विना विभागीय मन्त्री बनाइएको छ । नागरिक उन्मुक्ति पार्टीबाटै कृषि राज्यमन्त्री रहनु भएका कैलाश चौधरीलाई फिर्ता बोलाइएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार चलाउनका लागि गठबन्धन गरे पनि बहुमत पुगेको छैन ।

५३ जना प्रदेश सभा सदस्य रहने सुदूरपश्चिममा बहुमत सरकार चलाउन २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेमा कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका सात गरेर २५ जना मात्रै भएको छ । बहुमत पुर्‍याउन मुख्यमन्त्री शाहले राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाउने प्रयास थाल्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया