विभेदलाई जित्न हिँडेका दाहाललाई राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारी

 फागुन २९, २०८० मंगलबार १५:१२:५१ | रासस
unn.prixa.net

काठमाण्डाै – परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो राजनीतिक जीवन व्यतित गर्नुभएका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुनुहुन्छ ।

कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद र आमा देउरुपाका जेठो सन्तानका रूपमा उहाँकाे जन्म २०१२ साल चैत १६ गते भएको हो । माओवादीभित्र उहाँलाई ‘सरल’ नामले चिनिन्छ ।

माओवादी जनयुद्धलाई सफल बनाउन सक्रिय र ठूलो योगदान पुर्‍याउने योद्धा हुनुहुन्छ दाहाल । बाल्यकालदेखि नै कम्युनिस्ट पार्टीप्रति आस्था राख्नुभएका उहाँ विद्यार्थी जीवनमै पार्टीको सक्रिय सदस्यका रूपमा क्रियाशील हुनुभएको थियो ।

पार्टीका कामका लागि प्रवासमा अनेकौँ पीडा, कष्ट र हण्डर सहँदै नेपाली जनयुद्धलाई राजनीतिक, वैचारिक, साङ्गठनिक काममा सक्रिय हुँदै आर्थिक र भौतिक साधन स्रोत जुटाएर सफल बनाउन दाहालले अतुलनीय योगदान पुर्‍याउनुभएको थियो ।

२०१९ सलामा उहाँ सात वर्षको हुँदा नै परिवार चितवन बसाइँसराइ गरेको थियो । शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गर्नुभएका दाहाल विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय हुनुभएको थियो । कम्युनिस्ट पार्टी सत्तामा आएपछि सबै नागरिक बराबर हुन्छन् र कसैप्रति विभेद हुँदैन भन्ने चेतनाले आफूलाई कम्युनिस्ट पार्टीप्रति आकर्षित गरेको उहाँले सार्वजनिकरूपमा बताउनुभएको थियो ।

कम्युनिस्ट पार्टीप्रतिको आकर्षण बढिरहेको अवस्थामा बजारका पुस्तक पसलमा समेत कतिपय चिनियाँ कम्युनिस्ट पार्टीका प्रकाशनहरू निःशुल्क र कतिपय पुस्तकहरू सस्तो मूल्यमै पाइन्थ्यो । विद्यार्थीकालमा नै दाहाललाई धेरै चिनियाँ कम्युनिस्ट पार्टीका ‘चीन सचित्र’, ‘रेडबुक’ जस्ता पुस्तकले थप प्रेरित गरेको थियो । २०२७ साल जेठ १ मा विद्यार्थी दिवसका अवसरमा अनेरास्ववियुद्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै दुई घन्टा हिँडेर जुलुस र कार्यक्रममा सहभागी हुनुभएका दाहाल दाजुभाइ दुवैले त्यही दिन सँगै अनेरास्ववियुको सदस्यता लिनुभएको थियो ।

माध्यमिक विद्यालय पढ्दै अनेरास्ववियुमा आबद्ध दाहालले २०३१ सालमा वीरेन्द्र क्याम्पस भरतपुरमा अध्ययन गर्न थालेपछि नेपाल कम्युनिस्ट पार्टी पुष्पलाल समूहको पार्टी सदस्यता लिनुभयो । तीन सदस्यीय स्थानीय पार्टी युनिट गठन गरी दाहाल पार्टी गतिविधिमा सक्रिय बन्नुभयो ।

२०३६ सालमा स्नातक तह उत्तीर्ण गरेपछि उहाँ एरिया पार्टी कमिटीको कोषाध्यक्ष चयन हुनुभयो । त्याे कमिटीमा एक वर्ष काम गर्नुभएका दाहाललाई मोहनविक्रम सिंहको सल्लाहअनुसार नै पूर्णकालीन सदस्य भई भारत प्रवासको जिम्मेवारीमा काम गर्न पुग्नुभएको थियो ।

अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सह–सचिव, कोषाध्यक्ष र सचिव हुँदै २०३८ सालदेखि समाजको केन्द्रीय सचिव हुँदै दोस्रो सम्मेलनपछि महासचिव र अध्यक्षको जिम्मेवारी बहन गर्दै दाहाल पार्टी सङ्गठन विस्तारमा समर्पित रहनुभयो । सङ्गठनको मुखपत्र नेपाली एकता प्रकाशन गरी भारतमा रहने नेपालीबीच राजनीतिक कार्य अगाडि बढाउन उहाँले मुख्य भूमिका खेल्नुभयो ।

२०३७ सालदेखि पार्टीको पूर्णकालीन सदस्य बन्नुभएका दाहालले निरन्तर १८ वर्ष अखिल भारत एकता समाज र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहालले २०५७ सालदेखि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

२०४६ सालदेखि नेपाल फर्किएर पार्टी आन्दोलनमा योगदान गर्ने उद्देश्यले नेपाल फर्कनुभएका दाहाल प्रवासको पार्टी गतिविधिमा कमी आएपछि पार्टी केन्द्रको निर्देशनमा पुनः भारत जानुभयो । सशस्त्र सङ्घर्ष उत्कर्षमा चल्दै गरेको बेला २०६० मा पार्टी निर्देशनमै नेपाल आउनुभएका दाहालले भेरी–कर्णाली क्षेत्रका विभिन्न तीन जिल्लाको पार्टीको जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँले कास्कीको समेत जिल्ला इन्चार्जको भूमिका निर्वाह गर्नुभएको थियो । यस्तै काठमाण्डाै उपत्यकाभित्रका तीन जिल्ला इन्चार्ज र उपत्यका आसपासका विभिन्न जिल्लाको समेत जिल्ला इन्चार्जको भूमिका निर्वाह गर्नुभएका दाहाल नागरिकसँग जोडिएका नेताका रूपमा स्थापित हुनुहुन्छ ।

तत्कालीन नेकपा माओवादीको मुख्य राजनीतिक ‘एजेन्डा’ मानिएको संविधान सभामार्फत नयाँ संविधान बनाउने उद्देश्य पूरा गर्न गठन गरिएको व्यवस्थापिका संसद् २०६३ मा उहाँ सदस्यका रूपमा भूमिका निर्वाह गर्नुभयो । विसं २०६४ को संविधान सभा सदस्यको चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित बन्नुभएका दाहालले नेपालको ऐतिहासिक संविधान सभामार्फत समाजवाद उन्मुख संविधान निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभयो । अध्यक्ष प्रचण्डको दोस्रो प्रधानमन्त्रीकालमा दाहालले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको भूमिकासमेत कुशलतापूर्वक निर्वाह गर्नुभयो ।

परिवारका सबै सदस्य पूर्णकालीन रूपमा विभिन्न सङ्गठनमा क्रियाशील गराउनुभएका दाहालले नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने विषय नै प्रमुख विषय भएको बताउनुहुन्छ । विशेषगरी पदलाई भन्दा जिम्मेवारीलाई महत्त्वपूर्ण ठान्ने दाहाल पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी पनि इमानदारीपूर्वक निर्वाह गर्नुभएको उहाँका सहकर्मीहरू बताउँछन् । उहाँले एउटा प्रसङ्गमा भन्नुभएको थियो, ‘म निष्पक्ष ढङ्गले पार्टीले खटाएको काम गर्छु, निष्ठाको राजनीतिमा विश्वास गर्छु, पार्टी कमान्डको निर्देशन पालना गर्छु, मेरो इतिहासमा बेइमान भन्ने चाहिँ हुँदैन ।’

विधिमा पार्टी चल्ने कुरालाई आदर्श मान्ने दाहाल कम्युनिस्ट आचरणलाई प्रेरित गर्ने कुरामा विश्वास गर्नुहुन्छ । पार्टीलाई जनमुखी बनाउनुपर्ने धारणा राख्नुहुने दाहाल नागरिकलाई उचित लागेको कुरामा निरन्तर लाग्नुपर्ने बताउनुहुन्छ ।

वामपन्थी आन्दोलनमा नयाँ विचारको विकाससहित वैज्ञानिक समाजवादमा पुग्न सकिने उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड र दाहालका हजुरबुबा भने सहोदर दाजुभाइ हुनुहुन्थ्यो । प्रचण्डका बुबा र नारायणका बुबा कास्कीको ढिकुपोखरीबाट एकै दिन २०१९ सालमा पाँच कट्ठा जमिन किनेर चितवन बसाइँ सर्नुभएको थियो । अहिले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति सदस्यसमेत रहनुभएका दाहाल २०७८ साल चैत २५ गते राष्ट्रपतिबाट मनोनित भई राष्ट्रिय सभा सदस्य बन्नुभएको थियो ।

भारतका विभिन्न सहरमा नेपालीले गरेको दुःखदेखि गरिबी र पछौटेपनले पछाडि पारेको कर्णालीका विभिन्न बस्तीको राम्रो जानकारी राख्नुहुने दाहाल राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारी सम्हाल्ने ठाउँमा पुग्नुभएको छ । यो भूमिकालाई उहाँले इमानदारीपूर्वक निर्वाह गर्ने सोमवार उम्मेदवारी दर्ताकै क्रममा बताइसक्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया