सांसदहरूलाई ओलीकाे निर्देशन– ‘सरकारकाे आलाेचना नगर्नू, प्रधानमन्त्रीलाई विश्वासकाे मत दिनू’

 फागुन २९, २०८० मंगलबार १८:९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

आज मङ्गलवार पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सरकारको बारेमा कुनै आलोचना गर्नुपर्‍याे भने पार्टीको अनुमति लिएर मात्रै गर्न सकिनेतर्फ पनि सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराउनुभयो । तराईमा डोरीलाई कहिले–कहिले सर्प भनेर झुक्किने गरेको दृष्टान्त पेस गर्दै ओलीले त्यसैगरी सरकारको बारेमा जथाभाबी बोल्दा राम्रो नहुने उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘म फेरि पनि दोहोर्‍याएर भन्न चाहन्छु– सरकारको आलोचनामा बोल्ने होइन । सरकारको आलोचना गर्नुपर्‍याे भने आन्तरिकरूपमा गर्दा हुन्छ । कहिले–कहिले देख्दा एक चिज देखिन्छ तर चिज अर्कै भइदिन्छ । खासगरी तराईमा हिँड्दाहिँड्दै डोरीको त्यान्द्रो देख्यो भने सर्प रहेछ कि भनेर मान्छे झसङ्ग हुन्छ । अनि ठम्याएपछि सर्प हुँदैन, डोरी हुन्छ । अनि ढुक्क भएर हिँड्छ । त्यस कारण प्याट्ट बोलिहाल्दा कहिले–कहिले नराम्रो हुन्छ । त्यस्तो लाग्यो भने छलफलमा ल्याउन सकिन्छ । हामी छलफल गर्नसक्छौँ । कुनै पनि मन्त्रालयको काम सन्तोषजनक भएन भने हामी छलफल गर्न सक्छौँ । त्यसलाई सन्तोषजनक, प्रशंसायोग्य बनाउने कुरामा हाम्रो योगदान हुन्छ । यदी कसैले त्यो बनाउन चाहेन भने त्यस सम्बन्धमा फरक ढङ्गले उपचार खोज्नुपर्ने हुनसक्छ ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिन पनि पार्टीका सांसदलाई निर्देशन दिनुभयाे । नयाँ गठबन्धन बनाउने काममा पहलकदमी गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गरेकाले त्यसलाई आफ्नो पार्टीले सकारात्मकरूपमा लिएको पनि बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘ भोलि प्रधानमन्त्रीमाथि विश्वासको मत छ भनेर हामीले भन्नुपर्नेछ । पहिले–पहिलेका कुराहरूमा प्रधानमन्त्रीले गल्ती पनि गरेको हुनसक्छ । तर अहिले प्रधानमन्त्रीले एकदम राम्रो काम गर्नुभएको छ । अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन उहाँले पहलकदमी लिनुभएको छ । कमसेकम एक डेढ वर्षलाई उहाँको पद कुनै खतरामा थिएन । चलेकै थियो । तर एक डेढ वर्षमा पदमा बसिरहनु, चल्नुमात्रै होइन । देश अप्ठेराेमा पर्‍याे भन्ने मनन गरेर उहाँले फरक ढङ्गले कदम चाल्नुभएको छ । अहिलेको अवस्थामा उहाँले चालेको कदम सकारात्मक छ ।’

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया