दुग्ध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

 चैत २, २०८० शुक्रबार १८:२५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ — अर्थमन्त्री वर्षमान पुनले दुग्ध किसानलाई दिने बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । उहाँले अर्थ मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेसहित उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो ।

त्यसअघि मन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डाक्टर गोविन्द्रप्रसाद शर्मा र पशुपक्षी विकास सचिव डाक्टर रेवतीरमण पौडेलसँग छलफल गर्नुभएको थियो । भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसानले आन्दोलन गरिरहेका छन् ।

किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी) ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो । तर अर्थले रकम अभावको कारण देखाउँदै भुक्तानी दिएको थिएन । चालु आर्थिक वर्षमा ५१ अर्ब बजेट रहेको कृषि मन्त्रालयले अहिलेसम्म कुल बजेटको ५४ प्रतिशतमात्र खर्च गरेको छ ।

दुग्ध किसानका लागि अर्थमन्त्रीबाट स्पष्ट निर्देशन आएको र मन्त्रालयले क्रमशः दुग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने अर्थ मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया