८ वर्षदेखि बाँख्रासँगै दाम्लोमा, आमा भन्छिन् : मुटुमाथि ढुंगा राख्नु परेकाे छ

 कात्तिक २९, २०७५ बिहिबार १४:४१:३६ | उषा तामाङ
unn.prixa.net

दोलखा – घर नजिकै बाख्राका लागि बनाइएको खोर, खोरमा बाख्रा मात्रै बाँधिनु कुनै नौलो कुरो पनि भएन । बाख्रालाई दाम्लाले बाँधेर खोरमै राखिन्छ । 

तर दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर –८,शैलुङ्गेश्वर चिलाउने खर्कमा भने बाख्रासँगै एक बालक पनि बाँधिएर बस्न बाध्य भएका छन् । १३ वर्षीय सुब्बा तामाङ ८ वर्षदेिख बाख्रासँगै दाम्लोमा बाँधिएर बस्न बाध्य भएका हुन् ।

२०६२ साल जेठ ७ गते परिवारको जेठो छोराको रुपमा जन्मिएका सुब्बा २०६६ सालमा  एक्कासि बिरामी परेका थिए । त्यसबेलादेखि शरीरका कुनै अङ्ग नचल्ने भएपछि उनलाई बाख्राको खोरमा दाम्लाले बाँधिएर राख्ने गरिएको छ ।  

छोरा बिरामी परेपछि उपचारका लागि विभिन्न अस्पताल, धामी झाँक्रीकोमा लगे पनि स्वास्थ्यमा सुधार नआएको आमा सीता तामाङले जानकारी दिनुभयो । ‘शारीरिक अपाङ्गता भएका सुब्बालाई घरमा हेरचाहका लागि घरमा कोही हुँदैनन्, सबै आ–आफ्ना कामकाजमा जानु पर्ने बाध्यता कारण दाम्लोले बाँधेर हिड्नु पर्ने अवस्था रहेको छ’, आमा सीताले भन्नुभयो । 

सुब्बालाई पनि आफू दाम्लोमा बाँधिएको छु भन्ने कुनै पत्तो छैन । दिसापिसाबसमेतको ख्याल नहुने सुब्बा दोहोरो कुराकानी पनि गर्न सक्दैनन् । 

केही वर्षअघि सामान्य हिँडडुल गर्न सक्ने सुब्बा वर्षौँदेखि एकै ठाउँमा बाँधिएर बस्नु परेपछि अहिले हिँड्न नसक्ने भएका छन् । घर नजिकै एकतर्फ वन। अर्कोतर्फ भीर भएकाले दाम्लोमा बाँधेको सीता बताउनुहुन्छ । त्यसै छोड्दा लडेर ज्यान जान सक्ने सम्भावना भएकाले मुटुमाथि ढुंगा राखेरै भए पनि दाम्लोमा बाँधेर राख्नुपर्ने बाध्यता रहेको आमा सीताको भनाई छ ।  

उपचारका लागि परिवारले सक्दो प्रयास गरिसकेका छन् । छोराको उपचारका लागि परिवारले ऋण गरेरै प्रयास पनि गरेका हुन् । तर स्वास्थ्यमा सुधार नआएपछि सुब्बाको सहारा दाम्लो बनाउन परिवार बाध्य बनेको हो । 

आफ्नो छोरोको उपचारका लागि कतैबाट सहयोग पाए अझै पनि निको हुन सक्छ कि भन्ने झिनो आशा आमा सीताको मनमा अझै छ ।

नेपालको संविधानको भाग ३ मा व्यवस्था गरिएको मौलिक हक र कर्तव्यमा बालबालिकाको हकमा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ, भनी उल्लेख गरिएको छ । तर १३ वर्षीय सुब्बालाई संविधानले गरेको व्यवस्थाले छुन सकेको छैन, सुब्बाको वर्तमान अवस्थाले नेपालको वर्तमान सरकार र संविधानलाई नै चुनौती दिएको छ ।         

अन्तिम अपडेट: चैत १०, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया