पोखरा विमानस्थल बनाउन चीनबाट लिएकाे ऋण अनुदानमा बदल्न पहल थालेका छाैँ : प्रधानमन्त्री

 चैत ६, २०८० मंगलबार १६:१७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनबाट लिएकाे ऋण अनुदानमा बदल्न पहल थालेको बताउनुभएको छ ।

प्रतिनिधि सभाकाे आजकाे बैठकमा सांसदले सोधेका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले चीनको एक्जिम बैंकबाट लिएको ऋणलाई अनुदानमा रूपान्तरण गर्न सरकारले कुटनीतिक पहल थालेको बताउनुभएको हो ।

सरकारले चीनको एक्जिम बैंकबाट पाँच प्रतिशत ब्याजदरमा २२ अर्ब रुपैयाँ ऋण लिएको छ । चिनियाँ मुद्राको सटही दर बढ्दा अहिले यो ऋण २७ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । सरकारले यो ऋण २० वर्षभित्र चीनलाई तिर्नुपर्ने हुन्छ । तर पोखराबाट अन्तर्राष्ट्रिय उडान नहुँदा आम्दानी नभएकाले किस्ता तिर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान नभएकाले ऋण र ब्याज भुक्तानीको मापदण्ड संशोधन गर्न चिनियाँ पक्षलाई आग्रह गरेकाे सरकारले बताएको छ ।

उहाँले भन्नुभयाे, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानका रूपमा रूपान्तरण गर्न कुटनीतिक पहल गरिएको छ । यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्‍यक समन्वय गरिनेछ ।’

प्रधानमन्त्री प्रचण्डले पोखराबाट अन्तर्राष्ट्रिय उडान बढाउनका लागि सार्वजनिक निजी साझेदारीमा विमानस्थल चलाउनेगरी समिति बनेको र समितिको सुझावका आधारमा थप कदम चालिने पनि बताउनुभयो । आफ्नो चीन भ्रमणका क्रममा चीनका विभिन्न सहरबाट पोखरामा सिधा उडानका लागि छलफल भएको भन्दै प्रचण्डले थप पहल गर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया