सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने समय थपियो

 बैशाख ५, २०७६ बिहिबार ११:६:३८ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले रोजगारदातालाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने समय थप गरेको छ । 

सरकारले यसअघि घोषणा गरेको समयमा सूचीकृत हुन रोजगारदाताले आनाकानी गरेपछि सरकारले सूचीकृत हुने समय असार मसान्तसम्मलाई थप गरेको हो । पहिलो चरणमा मंसिर ६ गतेदेखि काठमाण्डौमा रोजगारदाताको सूचिकरण सुरु भएको थियो । 

काठमाडौं उपत्यका बाहिर प्रदेश नम्बर ३ का रोजगारदाताको सूचीकरण मंसिर १५ गतेदेखि, प्रदेश नम्बर १ का रोजगारदाताको सूचीकरण पुस १ गतेदेखि, प्रदेश नम्बर २ का रोजगारदाताको सूचीकरण पुस १५ गतेदेखि, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का रोजगारदाताको सूचीकरण माघ १ गतेदेति, कर्णाली र सुदूरपश्चिम प्रदेशका रोजगारदाताको सूचीकरण माघ १५ गतेदेखि सुरु गरिएको थियो । 

रोजगारदाताले आफू सूचीकृत भएको तीन महिनाभित्रमा आफ्नो संस्थामा कार्यरत श्रमिकको सूचीकृत गर्नुपर्नेछ । पछि नियुक्त भएका श्रमिकको हकमा नियुक्त भएको तीन महिना भित्रमा सूचीकृत गर्नुपर्नेछ ।

सूचिकरणमा नपरेका श्रमिकले उजुरी गरेमा कोषले सूचीकृत नगरिदिने रोजगारदातालाई कारबाही गर्ने प्रावधान सामाजिक सुरक्षा योजना संचालन कार्यविधिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया