नासाका सबैभन्दा ज्येष्ठ अन्तरिक्षयात्री ७०औं जन्मदिन मनाउँदै पृथ्वीमा अवतरण

 वैशाख ७, २०८२ आइतबार १८:८:२३ | एजेन्सी
unn.prixa.net

तस्वीर : नासा

केक, उपहार र परिवारसँग सामान्य उत्सव धेरै वृद्ध नागरिकले आफ्नो ७०औं जन्मदिन मनाउने तरिका हुनसक्छ । तर नासाका सबैभन्दा ज्येष्ठ अन्तरिक्षयात्री डन पेटिटले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सात महिनाको मिसन पूरा गर्न एक अन्तरिक्षयानमा पृथ्वीतर्फ हुइँकिँदा ७० वर्ष पूरा गर्नुभयो ।

अमेरिकी र दुई रुसी अन्तरिक्षयात्री बोकेको सोयुज क्याप्सुल आइतवार पेटिटको महत्त्वपूर्ण जन्मदिनमा काजकिस्तानमा अवतरण गर्‍यो । अन्तरिक्षमा २ सय २० दिन बिताउँदै पेटिट र उहाँका चालक दलका सदस्यहरू अलेक्सेई ओभचिनिन र इभान भ्यागनरले पृथ्वीको ३ हजार ५२० पटक परिक्रमा गर्नुभयो र उहाँहरूले मिसनको अवधिमा ९ करोड ३३ माइलको यात्रा पूरा गर्नुभयो ।

यो पेटिटको चौथो अन्तरिक्ष उडान थियो । उहाँले आफ्नो २९ वर्षको करियरमा कक्षमा १८ महिनाभन्दा बढी समय बिताउनुभएको छ ।

तीनै जना अन्तरिक्ष स्टेशनबाट छुटेको केही घण्टापछि स्थानीय समयानुसार आइतवार बिहान ६ बजेर २० मिनेटमा काजकिस्तानको जेज्काजगानको दक्षिणपूर्व भागको दुर्गम क्षेत्रमा अवतरण गर्नुभयो ।

अवतरणको नासाका तस्वीरहरूले सूर्योदयलाई पृष्ठभूमिका रूपमा राखेर सानो क्याप्सुल प्यारासुटबाट पृथ्वीमा झर्दै गरेको देखायो ।

उद्धारकर्ताहरूले उहाँहरूलाई अन्तरिक्षयानबाट फुलाउन सकिने मेडिकल टेन्टमा लगेपछि अन्तरिक्षयात्रीहरूले थम्स–अप इशाराहरू दिनुभयो ।

पेटिटलाई जहाजबाट बाहिर निकालिँदा केही थकित देखिए पनि नासाले एक विज्ञप्तिमा उहाँ ‘राम्रो अवस्थामा हुनुहुन्छ र पृथ्वीमा फर्केपछि उहाँका लागि अपेक्षा गरिएको दायरामा हुनुहुन्छ’ भनेको छ ।

त्यसपछि उहाँ टेक्सासको एजेन्सीको जोन्सन स्पेस सेन्टरका लागि नासाको विमानमा चढ्नुअघि कजाख शहर कारागन्डाका लागि उडान गर्न तयार हुनुहुन्थ्यो ।

अन्तरिक्षयात्रीहरूले आफ्नो समय आईएसएसमा पानी स्वच्छता प्रविधि, विभिन्न अवस्थाहरूमा बोटबिरुवाको वृद्धि र माइक्रोग्राभिटीमा आगोको व्यवहारजस्ता क्षेत्रहरूको अनुसन्धानमा बिताउनुभएको नासाले बताएको छ ।

तीनै जनाको सात महिनाको यात्रा नासाका अन्तरिक्षयात्रीहरू बुच विलमोर र सुनी विलियम्सले अनपेक्षित रूपमा कक्षीय प्रयोगशालामा बिताएको नौ महिनाभन्दा केही कम थियो । विलमोर र विलियम्सले परीक्षण गरिरहेको अन्तरिक्षयानमा प्राविधिक समस्याहरू आए र उहाँहरूलाई पृथ्वीमा फर्काउन अयोग्य ठहर गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया