सरकारसँग वैदेशिक रोजगार व्यवसायीका ५ बुँदे माग, पूरा नभए ७ दिन कामदारको उडान बन्द गर्ने चेतावनी

 जेठ ३, २०७६ शुक्रबार १८:३३:२७ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार व्यवसायीले सरकारसँग ५ बुँदे माग राख्दै पूरा नभए ७ दिन कामदारलाई विदेश नपठाउने चेतावनी दिएका छन् । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको शुक्रबार काठमाण्डौमा भएको विशेष भेलाले सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए जेठ १७ गतेदेखि २३ गतेसम्म विदेश जाने कामदारको उडान बन्द गर्ने निर्णय गरेको हो । 

संघले वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको ब्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, मलेसियासँग भएको समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरेर कामदारलाई मलेसिया पठाउने प्रक्रिया सुरु गर्नुपर्ने माग गरेको छ ।

यस्तै अहिले दूतावासहरुबाट भइरहेको मागपत्र प्रमाणीकरणलाई सहज बनाउन रोजगारदाता कम्पनीलाई यूजरनेम र पासवर्ड दिएर अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरण गर्न दिन,  व्यवसायीले कामदार पठाए बापत पाउनुपर्ने सेवा शुल्क दक्षिण एसियाली मुलुक अनुसार हुनुपर्ने माग पनि संघले गरेको छ । 

सरकारले आफ्ना माग जेठ १६ गतेसम्म सम्बोधन नगरे जेठ १७ गतेदेखि २३ गतेसम्म कामदार नपाउने संघको भनाई छ । त्यसपछि पनि आफ्ना माग सम्बोधन नभए विरोध, संघर्ष र असहयोगका कार्यक्रम तय गरिने भेला पछि संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

तपाईको प्रतिक्रिया