कार्यविधि नै बनाएर विभागले थाल्यो म्यानपावर अनुगमन, आइतबार काठमाण्डौ र पोखरामा छापा

 साउन १९, २०७६ आइतबार २०:४:२२ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले शनिबार र बिदाको दिन पनि म्यानपावरको अनुगमन गर्न थालेको छ ।

विभिन्न म्यानपावरले शनिबार या बिदाको दिन पारेर कामदारसँग अत्यधिक पैसा असुल्ने, गैरकानुनी अन्तर्वार्ता लिने जस्ता कार्य गर्न थालेको गुनासो आएपछि ‘अनुगमन टोली परिचालन कार्यविधी, २०७६’ बनाएर अनुगमन तीव्र पारिएको विभागले जनाएको छ ।

विभागकाअनुसार कार्यविधि गएको शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको छ । मलेसिया पठाइदिने भन्दै अन्तर्वार्ता लिइरहेको म्यानपावरमा हिजो शनिबार विभागले छापा मारेको थियो । 

यस्तै ललितपुरमा रहेको प्याराडाइज म्यानपावरले तोकिएको भन्दा १२ गुण बढी सेवा शुलक लिइरहेको अवस्थामा आइतबार विभागले छापा मारेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

विभागका शाखा अधिकृत कुशल बरालको नेतृत्वमा कपिल पौडेल र सुवर्ण शाक्यसहितको टोलीले चार जनाबाट लिन लागिएको रकममध्ये कुमार गुरुङ्ग र देवेन्द्र गुरुङ्गबाट बुझ्दै गरेको रकम जफत गरेको विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिनुभयो । कुमार गुरुङ्गबाट एक लाख १५ हजार र देवेन्द्र गुरुङ्गबाट लिन लागिएको एक लाख १० हजार रुपैयाँ जफत गरिएको हो । 

यस्तै, गङ्गा परियारले मागेको रकम आइएमीबाट पठाउन बाँकी रहेको र सुमन सार्कीले यूएइमा क्लिनर पदका लागि जान पोखरामै सविना गुरुङ्गलाई एक लाख ३० हजार रुपैयाँ बुझाएको खुल्न आएको विभागले जनाएको छ ।

विभागले प्याराडाइज म्यानपावरले नै पोखराको ग्रान्ड शिवालय होटलमा अवैध तरिकाले अन्तर्वार्ता लिंदै गरेको भन्ने उजुरीको आधारमा आकश्मिक अनुगमन गर्न श्रम तथा रोजगार कार्यालय पोखराबाट टोली खटाएको थियो । तर टोली पुग्नु अगावै शाखा कार्यालयका कर्मचारीहरु शाखा बन्द गरेर बाहिर निस्किसकेका विभागले जनाएको छ । 

प्याराडाइज म्यानपावर सञ्चालकलाई कागज गराई कामदारहरुलाई आजै वैदेशिक रोजगारीमा उडान हुने गरी पठाउन र गन्तव्यमा पुगेपछि पनि सम्झौतामा उल्लिखित सबै शर्त बमोजिम कामको सुनिश्चितता गराउने शर्तनामा र विभागमा वयानका लागि उपस्थित हुन पत्र काटिएको महानिर्देशक भूसालले बताउनुभयो ।

यस्तै विभागले आज पोखराको अन्य ठाउँमा पनि अनुगमन गरेको छ । पृथ्वीचोकको टार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसोर्सेजमा आकश्मिक अनुगमन गर्दा बोर्ड हटाएर गेट बन्द गरी एक जनालाई अन्तर्वार्ता लिँदै गरेको पाइएको विभागले जनाएको छ । अनुगमन टोलीले केही कागजात र कम्प्यूटर हार्डडिस्क बरामद गरी बयानका लागि पत्र काटेको छ ।

तपाईको प्रतिक्रिया