आन्दाेलनले सर्वसाधारणलाई सास्ती
बैशाख ७, २०८२ आइतबार
काठमाण्डौ - सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोड रुपैयाँसम्मको ऋण प्रवाह गर्ने तयारी गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई बढीमा एक करोड रुपैयाँसम्मको ऋण प्रवाह गर्ने तयारी गरिएको जानकारी दिनु भएको हो ।
शुक्रबार सिंहदरबारमा गैरसरकारी संस्था महासंघ नेपाल, उपभोक्ता महासंघ, कर्मचारी सञ्चय कोषलगायतका पदाधिकारीहरुसँगको सामूहिक छलफलमा बोल्दै उहाँले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरुको मागलाई ध्यानमा राखेर सरकारले उनीहरुलाई घरजग्गाबापत बढीमा एक करोड र शैक्षिक कर्जाबापत बढीमा ३५ लाख रुपैयाँ प्रवाह गर्ने कार्यविधि तय गरी मन्त्रालयमा छलफल भइरहेको पनि बताउनुभयो ।
मन्त्री विष्टले ऋण प्रवाहको त्यो विधि सामाजिक सुरक्षा कोषको अवधारणासँग मेल नखाए पनि विभिन्न निकायले दिएको सुझावको आधारमा सरकारले कोषमार्फत् ऋण प्रवाह गर्ने सोचलाई अघि बढाएको पनि स्पष्ट पार्नुभयो ।
त्यस अवसरमा मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वीकार गर्दै त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिने पनि बताउनुभयो ।
कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जितराम लामाले सामाजिक सुरक्षा कार्यक्रम अनौपचारिक क्षेत्रमा काम गर्नेहरुका लागि अति उपयोगी भएको उल्लेख गर्दै त्यसको प्रचार अभियानमा जोड दिन सरकारलाई सुझाव दिनु भएको थियो ।
अध्यक्ष लामाले अनौपचारिक क्षेत्रमा ३ महिना काम गरेर वर्ष दिनसम्म जीवनयापन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनीहरुको सेवा र सुविधाको उचित व्यवस्थापन हुने गरी सामाजिक सुरक्षाको प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।