बाढीपहिरोको सात महिनापछि बल्ल काभ्रेमा क्षतिको विस्तृत आँकलन थालियो

 वैशाख ७, २०८२ आइतबार १२:८:५८ | रासस
unn.prixa.net

तस्बिर : रासस

काभ्रे – गएको असोज १०, ११ र १२ को अविरल वर्षाले क्षति गरेको काभ्रेमा सात महिनापछि बल्ल विस्तृत क्षति आँकलन गर्न थालिएको छ । सरकारले सबैभन्दा धेरै जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट विस्तृत क्षति आँकलन शुरु गरेको हो । असोजको बाढीपहिरोले बागमती प्रदेशका जिल्ला अन्तर्गत काभ्रेमा धेरै क्षति पुर्‍याएको  थियो ।

गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारमा तीन जना पीडित धनसिंह लामा, राजन बोहोरा क्षेत्री र शुभद्रा सेञ्चुरीलाई निस्सा प्रदान गरेसँगै विस्तृत क्षति आँकलनको शुरुआत भएको हो । गृहमन्त्री लेखकले बाढीपहिरोबाट प्रभावितको निजि आवास पुनर्निर्माण तथा अन्य कार्यमा ढिलासुस्ती भएको स्वीकार गर्नुभयो । अस्थायी आवास निर्माणका लागि दुई चरणमा ५० हजार र स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट चरणबद्ध अनुदान रकम उपलब्ध हुन्छ ।

सरकारले गएको बुधवार अस्थायी आवास निर्माणका लागि काभ्रेमा सात करोड ३५ लाख रुपैयाँ निकासा गरेको छ । विस्तृत क्षति आँकलनका लागि काभ्रेमा १८ जना प्राविधिक खटाइएको छ । रोशी गाउँपालिकामा पाँच सय ६३ घर क्षति भएका छन् । रोशीमा तीनवटा क्लस्टर बनाएर क्षति आँकलनको काम शुरु गरिएको छ ।

यसमा प्राविधिकले क्षति हेरेर विवरण निर्धारण गरेपछि मात्र त्यसैअनुसार गाउँपालिकाले काम शुरु गर्ने छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार अब प्रभावित क्षेत्रका निजी घरका साथै पुल, भौतिक संरचना, तटबन्धनलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्नेछ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले पीडितले अस्थायी र स्थायी आवास निर्माणको काम एकैपटक गर्न चाहेमा त्यो पनि सम्भव भएको तर त्यसका लागि विस्तृत क्षति आँकलनको काम भने अनिवार्य हुनुपर्ने बताउनुहुन्छ ।

बाढीपहिरोबाट काभ्रेमा ८१ जनाको ज्यान गएको थियो । छ जना अझै बेपत्तामा सूचीमा छन् । बाढीपहिरोले काभ्रेका १३ पालिकामध्ये पनौती नगरपालिकाको रोशी क्षेत्र तथा रोशी र बेथानचोक गाउँपालिकमा सबैभन्दा धेरै क्षति पुगेको थियो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया