वैदेशिक रोजगारीमा जानेलाई ट्राफिक नियमबारे जानकारी

 मंसिर २७, २०७६ शुक्रबार १४:२४:३८ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने श्रमिक र परिवारका सदस्यलाई ट्राफिक नियमबारे जानकारी दिन वैदेशिक रोजगार व्यवसायी संघले ट्राफिक सचेतना कार्यक्रम गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसर पारेर यस्तो कार्यक्रम गरिएको हो ।

वैदेशिक रोजगारीमा जाने धेरै श्रमिकको सडक दुर्घटनामा परी ज्यान जाने गरेकाले ट्राफिक सचेतना कार्यक्रम गरिएको संघमक प्रथम उपाध्यक्ष तथा कार्यक्रम मुल समितिका संयोजक कमल तामाङले जानकारी दिनुभयो ।

काठमाण्डौको गौशला, एअरपोर्ट, गोङ्गबु पसपार्क, कोटेश्वरलगायतका ठाउँमा वैदेशिक रोजगार व्यवसायी आफैंले ट्राफिकसँग सहकार्य गरेर र काठमाण्डौ भित्रिने र बाहिरिने मुख्य नाका साँगा, थानकोट, बालाजु र बल्खुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत विदेशमा अपनाउनुपर्ने ट्राफिक नियमका बारेमा सचेतना बोर्ड राखिएको पनि संयोजक तामाङले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय महासभाले आप्रवासी श्रमिक र परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धी, १९९० पारित गरेको दिनको स्मरणमा हरेक वर्ष डिसेम्बर १८ का दिनलाई विश्वभर विश्व आप्रवासन दिवसका रूपमा मनाइन्छ । नेपालमा यो दिवस साप्ताहिक रुपमा मनाउन सुरु भैसकेको छ ।

तपाईको प्रतिक्रिया