विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती : कोरोना जाँचमा तीन विकल्प

 असार १६, २०७७ मंगलबार १६:१३:४१ | उज्यालो सहकर्मी

काठमाण्डौ – विदेशमा समस्यामा परेर स्वदेश फर्कनको लागि कोरोना नेगेटिभ आएको रिपोर्ट अनिवार्य गरिएको छ ।

सरकारी नियमअनुसार स्वदेश आइपुग्ने दिनले सात दिनभित्रको कोरोना जाँच नेगेटिभ आएको रिपोर्ट साथमा हुनु पर्नेछ । तर सरकारले यो नियम लागू गरे पनि स्वदेश फर्कने कतिपय नेपाली भने कोरोना जाँचबिनै पनि फर्किरहेका छन् ।

कतारले कोरोना जाँच सम्भव नभएको भनेपछि त्यहाँबाट फर्कनेलाई ‘फिट फर ट्राभल’ को आधारमा ज्वरो नापेर स्वदेश पठाइएको छ भने यूएई, कुवेत लगायतका देशबाट फर्कने कतिपय नेपालीलाई कोरोना जाँचबिनै ल्याइएको छ ।

यूएईले स्वदेश फर्कनेका लागि विमानस्थलमै आरडीटी परीक्षण गर्ने गरे पनि केही उडानमार्फत फर्किएकाको कोरोना जाँच भएको छैन । दूतावासहरुले कोरोना जाँच गर्नका लागि समन्वय गरे पनि खर्च आफैंले तिर्नुपर्ने हुन्छ । त्यसैले अहिले स्वदेश फर्कने नेपालीको कोरोना जाँचमा तीनवटा विकल्प दिन थालिएको छ । 

१. पीसीआर जाँच

विभिन्न देशमा रहेका नेपाली दूतावासले स्वदेश फर्कनेहरुलाई सम्भव भएसम्म पीसीआर परीक्षण गरेर रिपोर्ट साथमा राख्न अनुरोध छन् । योबेला स्वदेश फर्कनेको साथमा पीसीआर परीक्षणको रिपोर्ट भएमा फर्कने व्यक्तिलाई नै सहज हुन्छ । खाडीको देश ओमानबाट दुई उडानमार्फत स्वदेश फर्किएका नेपालीको साथमा पीसीआर परीक्षणको रिपोर्ट थियो ।

उनीहरु विमानस्थलबाट होल्डिङ सेन्टर पुगे । त्यसपछि क्वरेण्टीनमा बस्न परेन । कोरोना सङ्क्रमण पो छ कि भनेर चिन्ता पनि लिन परेन । दूतावासले सूचना जारी गर्दै पीसीआर परीक्षण गरेर मात्र फर्काइने भएकाले उनीहरु सिधै घर जान पाउने भनेको थियो । त्यसैले ओमानबाट फर्कनेहरुले क्वरेण्टीन बस्नुपर्ने झन्झट भोग्नु परेन । सिधै होम क्वरेण्टीनमा जान पाए । 

उनीहरु जस्तै म्यानमारबाट फर्किएका २६ जनाको साथमा पनि पीसीआर जाँचको रिपोर्ट थियो । उनीहरु होल्डिङ सेन्टरबाट सिधै होम क्वरेण्टीनमा जान पाए । तर अहिले नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियाबाट फर्कने सबैले पीसीआर जाँच गर्न पाएनन् । कतारमा यो सुविधा लिन नै समस्या भयो भने कतिपय देशमा पीसीआर परीक्षणको शुल्क नै महंगो भयो । फेरि कोरोना जाँचको खर्च पनि फर्कने आफैंले व्यहोर्नुपर्ने भएकाले पनि धेरैलाई समस्या भएको छ ।

आरडीटी परीक्षण

पीसीआर जाँच सम्भव नहुँदा स्वदेश फर्कनेले आरडीटी जाँच पनि गराउन सक्नेछन् । कतिपय देशले त स्वदेश फर्कनेको आरडीटी जाँच निःशुल्क पनि गरिदिएका छन् । 

‘फिट फर ट्राभल’

पीसीआर र आरडीटी परीक्षण सम्भव नभएको अवस्थामा दूतावासले अवस्था हेरी फिट फर ट्राभल जारी गर्न सक्ने पनि जनाइएको छ । कतार सरकारले स्वदेश फर्कने नेपालीको कोरोना जाँच नगर्ने भएकाले दूतावासले ज्वरो मात्र नापेर पठाउने भनेर सूचना जारी गरेको छ ।

तर कतारबाट विमानस्थलमा प्रवेश गरी यात्रा गर्नका लागि "Ehteraz''  मोबाइल एप मा हरियो रंग भएका व्यक्तिले मात्र अनुमति पाउने नियम छ । त्यसैले कतारबाट फर्कने नेपालीले यो एप अनिवार्य रुपमा चलाउनुपर्ने हुन्छ । एप डाउनलोड गरी त्यसमा कतारी परिचय पत्र नम्बर, भिसा नम्बर दर्ता गरेर एप सञ्चालनमा ल्याउन सकिन्छ । यसको अर्थ हरियो रंग हुनु भनेको यात्राका लागि फिट हुनु हो भनेर कतारले मानेको छ । 

यस्तै बहराइनमा रहेको नेपाली दूतावासले पनि पीसीआर वा आरडीटी जाँच सम्भव नभएमा  कुनै स्वीकृति प्राप्त चिकित्सकबाट कोरोना लक्षण नदेखिएको र फिट टू फ्लाई लेखिदिएको प्रमाण पेश गर्न सकिने जनाएको छ । 
विदेशबाट फर्कनेलाई नेपालमा विमानस्थलमा अध्यागमनको प्रक्रिया पूरा गरेपछि सामान्य स्वास्थ्य जाँच गरिन्छ । 

त्यसपछि प्रदेश अनुसार तोकिएका गाडीमा सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिन्छ । त्यहाँ पनि स्वास्थ्य जाँचको प्रक्रिया पूरा भएपछि कोरानोको लक्षण नदेखिएमा नेपाली सेनाको समन्वयमा सम्बन्धित जिल्लासम्म लगिन्छ । तर लक्षण देखिएमा वा शंका लागेमा भने काठमाण्डौमै बस्नुपर्ने हुन्छ । साथमा पीसीआर नेगेटिभ आएको रिपोर्ट भए सिधै होम क्वरेण्टीनमा जान पाइन्छ । 

तपाईको प्रतिक्रिया