रेमिट्यान्समा झनै सहज, विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन सकिने

 असोज ५, २०७७ सोमबार १७:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन मिल्ने गरी रेमिट्यान्ससम्बन्धी नियममा परिवर्तन गरेको छ ।

राष्ट्र बैंकले सूचनामार्फत विदेशमा रहेका नेपालीले त्यहाँका विद्युतीय भुक्तानी सेवा प्रदायकसँग आबद्ध भएर सोझै नेपालका ई सेवा, खल्ती, आईएमई पे, लगायतका वालेट र अन्य डिजिटल भुक्तानी सेवा प्रदायकमा पैसा पठाउन सक्ने जनाएको हो । 

‘हामीले रेमिट्यान्स कारोबारमा छलाङ नै ल्याउने गरी निर्णय गरेका छौँ, अब विदेशबाट एकै क्लिकमा नेपालमा रकम पठाउन सकिनेछ ।’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रले उज्यालो अनलाइनसँग भन्नुभयो । 

अब रेमिट्यान्स कम्पनीहरुले पैसा पठाउने र पाउनेको बीचमा पुलको मात्रै काम गर्ने उहाँको भनाइ छ । ‘अब रेमिट्यान्स कम्पनीहरुको काम नै छैन भन्ने होइन, पहिलेजस्तो उनीहरुको भूमिका हुँदैन, नयाँ माध्यमबाट रेमिट्यान्स भित्राउँदा पनि कतै न कतै उनीहरुको भूमिका हुन्छ’, मिश्रले भन्नुभयो । 

रेमिट्यान्स प्रदायक कम्पनी र बैंक तथा वित्तीय संस्थाले नेपालीहरु काम गरिरहेका देशका डिजिटल भुक्तानी सेवा प्रदायकहरुसँग मिलेर नेपालमा रकम भित्र्याउन सक्ने र ग्राहकलाई पनि डिजिटल माध्यममार्फत नै भुक्तानी गर्न पाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । अब विदेशबाट आएको रेमिट्यान्स मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेटलगायतका माध्यममार्फत सिधै ग्राहकले भुक्तानी पाउने छन् । 

रेमिट्यान्स कम्पनीले डिजिटल भुक्तानी सेवा प्रदायकमार्फत पठाएको रकम प्रापकले रकमान्तर गर्न वा आफै उपस्थित हुन नसक्ने अवस्थामा वालेटमा पठाउने र तोकिएको सीमाभन्दा बढी भएको रकम प्रापकको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था मिलाउनु पर्नेछ । 

यसका लागि राष्ट्र बैंकले रेमिट्यान्स सेवा प्रदायकलाई केही शर्त भने तोकेको छ । नेपालीले काम गर्ने देशबाट रकम भित्र्याउँदा रेमिट्यान्स कम्पनीले सम्बन्धित देशको डिजिटल भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध भएको हुनुपर्नेछ । अन्तरदेशीय कारोबारको लागि अपनाउनुपर्ने सुरक्षा व्यवस्था कडाइका साथ पालना गरेको हुनुपर्नेछ । यस्तै सुरक्षित रुपमा डिजिटल कारोबारको अभिलेख राखेको हुनुपर्नेछ ।   

तपाईको प्रतिक्रिया