कुम्भकर्ण हिमालको आधार शिविर क्षेत्रमा फोहर सङ्कलन
कात्तिक १५, २०८१ बिहिबार
पोहोर साल चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको महामारी विस्तारै विश्वका अरु देशमा पनि फैलिँदै गयो । विश्वमा नै एकप्रकारको त्रास उत्पन्न भयो ।
धेरै देशले चीनबाट पर्यटकहरूको आगमनमा रोक लगाउन थाले । विमानको उडानमा प्रतिबन्ध लगाइयो । म त्यो समय आबुधाबी शहरमा रहेको एक पाँचतारे होटेलमा सुरक्षागार्डको रूपमा कार्यरत थिएँ । त्यो होटेलमा पहिलेदेखि नै चिनियाँहरुको आउजाउ भइराख्थ्यो । जब कोरोनाको त्रास बढ्दै गयो, हामीलाई चिनियाँसँग डर लाग्न थाल्यो । चिनियाँ ‘गेष्ट’ आउने बित्तिकै हामीहरु डराउन थाल्यौं ।
केहि समयपछि त यूएईमा पनि कोरोना भेटिएको आधिकारिक समाचारहरु आउन थाले । हामी बस्ने क्षेत्रमा एम्बुलेन्स र प्रहरीको गाडीहरू बाक्लो रूपमा देखिन थाले । कोरोनाका कारण मानिसहरूले ज्यान गुमाएका खबर यत्रतत्र सुनिन थाले । एक दिन होटेलको कोठामा एक जना पाहुना बिरामी भए । लक्षण कोरोनासँग मिल्दोजुल्दो देखियो र होटेलको व्यवस्थापनले बिरामीलाई गोप्यरुपमा अरु गेस्टहरुले थाहा नपाउने गरि अस्पतालमा लिएर गयो ।
त्यसपछि त झन् होटेलमा काम गर्ने सबैको मनमा त्रास बढ्दै गयो । काम सकेर होस्टेल फर्किन पनि मन लाग्दैन थियो । आफू सुरक्षागार्ड भएकोले धेरै खटिनु पर्ने, मानिसको भिडभाडमा पनि रहनुपर्ने हुन्थ्यो । तर होटलको सुरक्षार्थ खटिएका म लगायत अरु साथीहरु भाइरससँग डराउन थाल्यौं । जुनसुकै समयमा पनि अग्रपंक्तिमा उभिनुपर्ने हामी आफै डराउनु ठीक होइन भन्दै आफैलाई सम्झायौं । सुरक्षाका साधन अपनाएरै भए पनि काम गरियो ।
बिस्तारै यहाँको सरकारले कर्फ्यू लगायो । सबै मानिसहरुले मास्क र पञ्जा लगाउनु पर्ने नियम लागू गर्यो । होटेल रित्तिन थाले । सडकहरु खाली देखिन थाले । साथमा पैसा भएर पनि सामान किन्न निकै गाह्रो हुन थाल्यो ।
एकदिन बिहान मलाई जीउ दुखेको अनुभव भयो । ज्वरो आउला आउला जस्तै भयो जसोतसो त्यो दिन काममा गइयो । भोलिपल्ट त ज्वरो झनै बढेर आयो । मलाई पनि कोरोना सङ्क्रमण पो भयो कि जस्तो लाग्यो ।
मलाई अस्पताल गएर कोरोना परीक्षण गर्न मन लागेन । कतै पोजेटिभ देखिहाले क्वरेण्टीनमा बस्नुपर्ने कुराले मैले कोरोना परीक्षण नगर्ने सोचेँ । डाक्टरको सल्लाहमा केही औषधि लिएँ । तातो पानीमा अदुवा, बेसार राखेर पिउने गरेँ । दुई दिनमा मलाई पूर्ण रूपमा निको भयो ।
त्यो कोरोना थियो अथवा साधारण मौसमी ज्वरो भनेर अहिले पनि म अन्यौलमै छु । कोरोना लागेको मानिसहरु सबैजसो निको भएको र सामाजिक दूरि, मास्क पञ्जा लगाउने, हात पटकपटक धुने, नियमित तातो पानी पिउने गर्नाले धेरै हदसम्म बच्न सकिने रहेछ भन्ने मैले बुझेँ ।
आफ्नै अगाडि कोरोनाका कारण अरुको ज्यान गएको देख्दा पनि म लगायत धेरै नेपाली दाजुभाइले साहस र हिम्मतका साथ काम गर्यौं । अब त कोरोनाको संक्रमण पनि धेरै कम हुँदै गएको छ । यूएईको कानुन , यहाँको सरकारी नीति सबै लोभलाग्दो छ । उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ । त्यसैमाथि खोप पनि उपलब्ध भैसकेको र लगाउन पनि सुरु गरिसकेको छ । अहिले सबैमाझ आशाको दियो बलेको छ ।