च्याम्पियन्स ट्रफीका खेल भारतले पाकिस्तानमा नखेल्ने
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल सरकारले कतार लगायत टर्की र चीनको लागि भनेर जुन ७ देखि नियमित उडान सञ्चालन गर्याे । लामो समयदेखि वैदेशिक रोजगारीमा जान रोकिएकाहरु उत्साहित भए । कतार, टर्की लगायत यी देशमा ट्रान्जिट भएर अन्य गन्तव्य देश जान पर्खिरहेका नेपाली श्रमिकमा खुसी छायो । हप्तामा दुई वटा मात्रै हुने भए पनि नियमित उडान भनेपछि पहिलेकै भाडादरमा जान पाइने भो भनेर ढुक्क भए । तर जब नियमित भनिएको उडानको लाखौं रुपैयाँ भाडादर सुने तब छाँगाबाट खसेझैंँ भए ।
कतार जानको लागि महिनादिन देखि पर्खेर बस्नुभएका धनुषाका जीवन साहलाई पनि यस्तै भयो । कतार जाने भनेर दुई महिनादेखि काठमाण्डौमा साथीको कोठामा बस्दै आउनुभएका उहाँ नियमित उडान खुले पनि जान पाउनुभएको छैन । आफूले पहिलेकै भाडादरमा जान भनेर पैसाको जोहो गरेको तर अहिले भाडादर महंगो भएका कारण आफू जान नसकेको उहाँ बताउनुहुन्छ ।
‘एअरलाइन्समा बुझेको, एक लाख बीस हजार रुपैयाँ भाडा भन्छ, मसँग त पचास हजार मात्रै छ, कसरी जाने ?’, उहाँले भन्नुभयो, ‘पहिले त म तीस हजारमा गएको, चार्टड उडानको जति महंगो तिरेर त हामी जान सक्दैनौं ।’
अहिले कतार एअरवेज र नेपाल एअरलाइन्सले कतारको लागि हप्तामा एक एक वटा उडान गरिरहेका छन् । यसरी हप्तामा दुईवटा उडान मात्रै सञ्चालनमा छन् । सीमित उडान र जाने यात्रु धेरै हुँदा भाडादरमा एअरलाइन्सको मनपरी भएको आरोप लाग्ने गरेको छ । कतार र नेपालबीच नियमित उडान सुरु भयो भनिए पनि यो कुरा निर्णयमा मात्रै सीमित रहेको भन्दै गुल्मीका कुशल केसी उज्यालोको फेसबुक पेजमा आक्रोश पोख्नुहुन्छ । आफूले जति प्रयास गर्दा पनि सामान्य भाडादरमा टिकट नपाएको उहाँको भनाइ छ ।
‘ट्राभल एजेन्सीहरुले सीट छैन भन्छ, तर उनीहरुले भनेजति भाडा तिर्न सक्ने भए मात्र टिकट उपलब्ध गराइदिने रहेछन्’, कुशल भन्नुहुन्छ, ‘यसरी दिने टिकटको मूल्य डेढलाखसम्म भन्छन्, एजेन्सी र सरकारी कर्मचारी मिलेर कालोबजारी गरेको जस्तो लाग्छ ।’
वैदेशिक रोजगार व्यवसायी महासंघका अनुसार अहिले ६० हजार भन्दा बढी नेपाली श्रमिक कतार, साउदी, यूएई, ओमान लगायतका देशमा जानको लागि भिसा लिएर बसेका छन् । तर सीमित देशको लागि सीमित उडान खुल्दा यसले यात्रुहरुलाई धान्न सकिरहेको अवस्था छैन ।
महासंघका अनुसार वैदेशिक रोजगारीमा कतार जानको लागि अहिले नै ३० हजारको हाराहारीमा श्रमिकहरु छन् । हप्तामा दुईवटा उडानले त्यति धेरै यात्रुलाई लैजान सक्ने अवस्था छैन । त्यसमा पनि युरोपेली लगायत देशको लागि कतार ट्रान्जिट भएर जाने यात्रुहरु धेरै हुन्छन् ।
नेपाल सरकार अन्तर्गत पर्यटन मन्त्रालयले अहिलेको अवस्थामा वैदेशिक रोजगारीमा जानेहरुलाई पनि सहज होस् भनेर कतारको लागि उडान खोलेको बताए पनि श्रमिकहरुलाई यसले छोएको देखिँदैन । महँगो भाडादर र वैदेशिक रोजगारीमा जानेहरुको लागि भनेर अलग्गै व्यवस्था नभएका कारण श्रमिकहरुलाई ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै भएको लोकतान्त्रिक वैदेशिक रोजगार संघका अध्यक्ष भवानी निरौला बताउनुहुन्छ ।
‘नियमित उडान खुले भने पनि वैदेशिक रोजगारीमा जानेहरु एकदमै नगन्य छन्, श्रमिकको लागि भनेर उडान खुलाएकै हैनन्’, निरौला भन्नुहुन्छ, ‘जसले पहिले टिकट काट्यो उही जाने हो, एअलाइन्सहरुले महंगो भाडा तोकेको छ, यति महंगो भाडा तिरेर सामान्य कामदार कसरी जान सक्छन् ?’
वैदेशिक रोजगार व्यवसायीहरु यस विषयमा लागिरहेको रोजगार संघका अध्यक्ष निरौला बताउनुहुन्छ । ‘हप्तामा कम्तीमा पनि तीनओटा एअरलाइन्सका तीन तीन ओटा उडान गरौं भनेर हामीले मन्त्रालयमा कुरा राखेका छौं’, उहाँले भन्नुभयो ।
एअरलाइन्सहरुले महंगो भाडादर लिइरहेको बारेमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय आफै जानकार छ । आफूहरुले यस विषयमा जानकारी पाएको र यस्तो गर्नेलाई कारबाहीको दायरामा ल्याउन नागरिक उड्ययन प्राधिकरणलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी बताउनुहुन्छ ।
‘एअरलाइन्सहरुको नियामक निकाय नागरिक उड्ययन प्राधिकरणलाई हामीले सूचीत गरेका छौं, के गर्नुपर्ने हो उहाँहरुले नै हेर्नुहुन्छ’, प्रवक्ता अधिकारीले भन्नुभयो । मन्त्रालयले थप उडान खोल्ने बारेमा छलफल गरिरहेको पनि उहाँको भनाइ छ ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री आफूहरुले कतार एअरवेजलाई टिकट महंगो भयो रेट दिनुस् भनेर चिठी पठाइसकेको र उताबाट पनि यति नै हो भनेर पठाएको बताउनुहुन्छ ।
‘नेपाल एअरलाइन्स सरकारी भएकाले यसले भाडादर मनपरी गर्ने कुरै भएन, कतार एअरवेजले महँगो भाडा लिएको विषयमा हामीले चिठी पठाइसकेका छौं, उहाँहरुले पनि यसबारेमा जवाफ दिनुभएको छ’ उहाँले भन्नुभयो, ‘यदि एजेन्सीहरुले बढी पैसा लिएको भन्ने पाइएमा प्राधिकरणले कारबाही गर्नेछ ।’
यस्तै अहिले रिटर्न टिकट लिएर नेपाल आएका धेरैको चिन्ता आफूसँग भएको टिकट ‘क्यान्सिल’ हुन्छ कि भन्ने छ । यो उनीहरुको चिन्ता मात्र होइन, श्रमिकले भोगेको समस्या पनि हो । विदेश जान पाउने दिन पर्खेर बस्नुभएका रुपन्देहीका लालबहादुर भन्नुहुन्छ, ‘म अप्रिल १ मा रिटर्न टिकट लिएर नेपाल एअरलाइन्समा कतारबाट आएको तर अहिले रिटर्न टिकट क्यान्सिल भयो नयाँ लिनुपर्छ भन्छन् ।’
अर्को टिकट जति महंगो भए पनि अर्को टिकट काट्छु भन्दा पनि सिट नपाएको उहाँ गुनासो पोख्नुहुन्छ । तर यस विषयमा प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री भने एअरलाइन्सहरुले यस्तो गर्न नमिल्ने बताउहुन्छ ।
‘टिकट क्यान्सिल त हुँदैहुँदैन तर त्यो टिकटले चार्टड उडानमा भने जान पाइँदैन, अहिले सीमित मात्र उडान चलेका कारण सिट मिलेन होला’, उहाँले भन्नुभयो, ‘त्यो टिकट हेरेर एअरलाइन्सले आफ्नो 'सेड्युल फ्लाइट'मा पठाउँछन्, तर भाडादरमा केही तलमाथि भने हुन सक्छ ।’
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।
ललित थापा मगर
June 15, 2021, 12:31 a.m.म पनि हाल साउदि अरबिया मा होटलमा कार्यरत छु, म घरमा छुट्टि गएर फर्केको पनि ३ बर्ष भन्दा बेशि भैसक्यो, पोहोर साल घर फर्कने बिचरमा थिएं, त्यति नै बेला कोरोनाको महामारी फैलिएर उडानहरु बन्द भए, पछि बिस्तारै उडान त खुल्यो तर भाडादर पहिलेको तुलनामा दोब्बर तेब्बर महंगो भएको कारण घर फर्कन सकेन। अब यो बर्ष दशैं तिहारसम्म घर फर्कने सोच बनाएको थिएं, खोइ यस्तै हो भने त घर पनि कसरी फर्कनु र? घर फर्कनकै लागी २/३ महिनाको तलब चाहिने रहेछ, अब २/३ महिनाको तलब घर पठाउनु कि टिकट काट्नु? हामी आफन्त घरपरि भेट्न आफ्नो जन्मभुमी फर्कन चाहेका हौं सरकार, धन कमाउन बिदेश पलायन हुन लागेका होइनौं। अब भन्नुस सरकार हामी आफुले कमाएको पैसाले घरपरिवारको पेट भरौं कि एयरलाइन्स कम्पनि हरुको पेट भरौं? के हामी आफ्नो देश फर्कनलाई मर्नै पर्ने हो र?