वैदेशिक रोजगारी : अभिमुखीकरण तालिमलाई थप पारदर्शी बनाउन विभागले जारी गर्‍याे यस्ता निर्देशन

 असार १३, २०७८ आइतबार १२:०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिम सञ्चालन गर्ने विषयमा वैदेशिक रोजगार विभागले थप कडाइ गरेको छ ।

विभागको अनुगमन तथा अभिमुखीकरण शाखाले अभिमुखीकरण तालिम प्रदायक संस्थालाई थप पारदर्शी बनाइ ठगी हुनबाट रोक्न विभिन्न निर्देशन जारी गरेको हो ।

अब तालिम प्रदायक संस्थाले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस)मा सञ्चालकको मोबाइल नम्बर अनिवार्य राख्नुपर्ने हुन्छ । यस्तै तालिम कक्षा सञ्चालन भइरहेको समयमा विभागबाट भिडियो कलमार्फत सम्पर्क हुन सक्ने गरी ईमो भाइबर वा ह्वाट्सअप नम्बर आईडी उपलब्ध गराउन निर्देशन दिएको छ ।

विभागको निर्देशन अनुसार अब विभागमा नाम दर्ता गरेका प्रशिक्षकहरुबाट मात्रै कक्षा सञ्चालन गर्नुपर्नेछ । यस्तै अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ ले तोकेको योग्यता पूरा गरेका प्रशिक्षकहरुको नाम, शैक्षिक योग्यता तथा तालिम सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि विभागमा पेश गर्न पनि निर्देशन दिएको छ ।

यस्तै प्रशिक्षार्थीहरुको प्रत्येक सत्रको बायोमेट्रिक हाजिरी सत्र समाप्तिपछि त्यही दिन एफईआईएमएसमा प्रविष्ट गरिसक्नुपर्नेछ । कार्यालय रहेको स्थान पहिचान हुनेगरी कार्यालयको स्पष्ट ‘लोकेशन म्याप’ उपलब्ध गराउनुपर्नेछ । 

विभागले तोकेका निर्देशनको पालना नगरेको पाइएमा कारबाही गरिने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया