युवा भन्छन् : भोट हालेर काम खोज्दै खाडी जान नपरोस्

 कात्तिक २१, २०७९ सोमबार १०:२४:३२ | रासस
unn.prixa.net

नवलपरासी सुस्ता पूर्व – नवलपुरको कावासोतीका सुशान्त पोख्रेल मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो पटक मतदान गर्ने तयारीमा हुनुहुन्छ ।  

मतदानको दिन नजिक आउँदा उम्मेदवारका प्रतिबद्धता विभिन्न देख्नुभएका उहाँलाई युवा विदेश पलायन रोक्ने योजना भइदिए हुन्थ्यो भन्ने लागेको छ ।

‘दैनिक सयौँ युवा विदेश पलायन भइरहेका छन् युवालाई स्वदेशमै राख्ने खालको वातावरण बनिदिए हुने थियो’ उहाँले भन्नुभयो ‘मजस्तै धेरै युवा विदेश पलाएन भइरहेका छन्, स्वदेशमा रोजगारीको अवसर भए सायद विदेश जाने थिएनन् होला, भोट दिएपछि कामका लागि विदेश जान नपरोस् भन्ने चाहन्छु म पनि ।’

राजनीतिक दलहरूले विकासका योजनाअघि सारे रोजगारीका अवसरसमेत सँगै आउने हुँदा यसतर्फ ध्यान दिनुपर्ने पहिलो पटक मत दिन तयार  हुप्सेकोट–४, शङ्खदेवका युवा दिलीप चापागाईँको भनाइ छ । 

‘रोजगारमूलक योजनाअघि सारी युवालाई उत्पादनमा प्रयोग गर्न सके देशको विकास पनि हुने थियो, युवा रोजगारमा जोडिने थिए’ उहाँ भन्नुहुन्छ ‘बजेटको उचित सदुपयोग हुने खालका काम भइदिए हुन्थ्यो भन्ने लाग्छ ।’

कावासोती ६ कि मनीषा पौडेल पनि खाडीमा पसिना बगाएकाहरू देशमै फर्किएर श्रम गर्ने वातावरण अबको चुनावपछि बनोस् भन्नुहुन्छ । 

उहाँ भन्नुहुन्छ ‘ स्वदेशमै अवसर छन्, देश विकासको गतिमा छ, सुशासन कायम छ भन्ने वातावरण बनोस् ।’ राजनीतिक दलले युवाका लागि विस्तृत योजना ल्याउन भने नसकेको उहाँको धारणा छ । ‘रोजगार सिर्जना गर्ने, युवालाई उत्पादनमा जोड्ने भन्ने प्रतिबद्धता त देखिन्छ तर त्यसको लागि के गर्ने, कस्ता कार्यक्रमले युवालाई जोड्ने भन्ने कमै हुन्छन्, दलहरूले स्पष्ट योजना ल्याउन आवश्यक छ ।’ उहाँले भन्नुभयो ।

चुनावको मिति नजिकिँदै गर्दा उम्मेदवारले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिकसमेत गरिरहेका छन् । उम्मेदवारले जिल्लामा औद्योगिक क्षेत्रको स्थापना जोड दिँदै युवालाई रोजगारसँग जोड्ने, व्यवसाय गर्न चाहनेलाई बिउ पुँजी उपलब्ध गराउनेदेखि रोजगारी सृजनाका विभिन्न कुराहरू घोषणापत्रमा गरेका छन् ।

  कृषि उत्पादनमा युवालाई जोड्ने कतिपय उम्मेदवारले बताइरहँदा स्पष्ट खाका नहुँदा चुनावी नारा मात्रै हो कि भन्ने आशङ्का लागेको स्थानीय युवा राम भुसाल बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया