वैदेशिक रोजगारी : १० महिनामा एजेण्टहरुबाट झण्डै ७६ करोड रुपैयाँ ठगी, महिनामै एक सयभन्दा बढी उजुरी

 जेठ ४, २०८० बिहिबार १५:३०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानुनी बिचौलिया र एजेण्टहरुले झण्डै ७६ करोड रुपैयाँ ठगी गरेका छन् ।

वैदेशिक रोजगार विभागमा चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म दर्ता भएको नौ सय २५ उजुरीमा ७५ करोड ७७ लाख ४१ हजार २१४ रुपैयाँ ठगी रकम दाबी गरिएको विभागले जनाएको छ ।

यो रकम दाबी वैदेशिक रोजगारीमा श्रमिक पठाउन अनुमति नै नपाएका गैरकानुनी एजेण्ट र बिचौलियाबाट भएको ठगीको हो । वैदेशिक रोजगारीमा श्रमिक पठाउनकै लागि भने विभागसँग अनुमति लिएका म्यानपावर कम्पनी बाहेक कोही पनि एजेण्टले रोजगारीका लागि श्रमिक पठाउन नपाउने सरकारी नियम छ । तर सरकारको नियम विपरीत एजेण्ट र बिचौलियाबाट हुने ठगी भने बर्सेनि बढ्न थालेको छ ।

अघिल्लो वर्षको तुलना चालु आर्थिक वर्षमा ठगीमा पर्नेहरू बढेका छन् । विभागका अनुसार पछिल्लो केही समययता वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत नै नलिएका व्यक्तिहरूबाट भएको ठगीको उजुरी महिनामै सयभन्दा बढी पर्न थालेका छन् ।

गएको वैशाख महिनामा मात्रै एजेण्ट र बिचौलियाबाट भएको ठगीको एक सय चार वटा उजुरी परेको छ  । चालु आर्थिक वर्षको १० महिनामा नौ सय २५ वटा एजेण्ट र बिचौलियाबाट भएको ठगीको उजुरी विभागमा दर्ता भएका छन्।

यो सङ्ख्या अघिल्लो वर्षमा निकै कम थियो । गएको आर्थिक वर्षमा एजेण्टहरुबाट भएको छ सय ९५ उजुरी विभागमा परेको थियो । यो उजुरी उपर ५० करोड ४४ लाख ६१ हजार २०३ रुपैयाँ रकम दाबी गरिएको थियो ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ देखि अहिलेसम्म एजेण्ट र बिचौलियाबाट एक अर्ब २६ करोड २२ लाख दुई हजार ४१७ रुपैयाँ ठगी भएको छ । विभागमा परेको १६ सय २० उजुरी उपर यो रकम दाबी गरिएको हो । 

चालु आर्थिक वर्षको १० महिनामा परेका नौ सय २५ उजुरी मध्ये ७७ वटा मुद्दा अदालतमा दायर गरिएको छ भने १७६ बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । 

यस्तै विभागकै रोहबरमा १३५ जनाले मिलापत्र गरेका छन् । मिलापत्रमार्फत नौ करोड ४३ लाख ५६ हजार एक सय रुपैयाँ एजेण्टहरुले फिर्ता गरेका छन् । 

गैरकानुनी एजेण्ट र बिचौलियामार्फत भएको ठगीको उजुरी उपर विभागले अनुसन्धान गर्ने, प्रमाण जुटाएर अदालतमा मुद्दा दायर र मिल्छु भन्नेहरूलाई मिलापत्र गराउने पनि गर्छ । 

तर यसरी गैरकानुनी रूपमा भएको ठगीमा अहिलेसम्मको रेकर्डले न्याय पाउने सम्भावना भने ३५ प्रतिशत जति मात्र हुने विभागले जनाएको छ ।

व्यक्तिगत रूपमा भएको ठगीमा अदालतले पीडितकै पक्षमा फैसला गर्दा पनि ठगी गर्ने पिडकले रकम फिर्ता नदिने, लामो समयसम्म झुलाउने लगायतको समस्या रहेको विभिन्न सरकारी प्रतिवेदनले नै देखाएको छ ।

इजाजतप्राप्त म्यानपावरबाट ५३२ ठगी

वैदेशिक रोजगारीमा श्रमिक पठाउन विभागसँग इजाजत लिएका म्यानपावर कम्पनीले चालु आर्थिक वर्षमा गरेको ठगीका पाँच सय ३२ उजुरी विभागमा दर्ता भएका छन् ।

यी उजुरी उपर एक करोड ३४ लाख ६५ हजार २८५ रुपैयाँ दाबी गरिएको छ । जसमध्ये विभागले ७५ वटा उजुरीको फरफारक गरिसकेको छ भने तीन वटा उजुरी उपर मिलापत्र गराएको छ ।

अहिले पनि तीन सय ८५ उजुरी प्रक्रियामा रहेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया