विदेशमा गार्मेन्टमा काम गर्न चाहने महिलाका लागि निःशुल्क आवासीय सीप तालिम प्रदान गर्दै बोर्ड

 जेठ ४, २०८० बिहिबार १८:३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रोजगारीका लागि विदेश जाने तयारीमा रहेका महिलाहरूका लागि वैदेशिक रोजगार बोर्डले गार्मेन्ट मेशिन अपरेटरको सीप तालिम प्रदान गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा गार्मेन्टको काममा जान चाहने महिलाहरूका लागि खाने बस्ने सुविधासहित ३० दिनको निःशुल्क आवासीय सीप तालिम काठमाण्डौमा सञ्चालन गर्न लागिएको बोर्डका निर्देशक तथा सूचना अधिकारी राजन पौडेलले जानकारी दिनुभयो । 

वैदेशिक रोजगारीमा जान राहदानी बनाएका वा राहदानी बनाउन राजस्व बुझाएका महिलाहरूले  गार्मेन्ट मेशिन अपरेटरको तालिम निःशुल्क रूपमा काठमाण्डौमा खाने र बस्ने सुविधासहित लिन पाउने छन् । गार्मेन्ट मेशिन अपरेटरको तालिम लिएका महिलाहरूका लागि जोर्डन लगायतका देशमा रोजगारीको अवसर छ । 

यो तालिम लिन १८ देखि ३५ वर्ष उमेर समूहको र कम्तीमा पनि कक्षा काठ पास गरेको हुनुपर्छ । 

‘निःशुल्क रूपमा आवासीय तालिम सञ्चालनका लागि तालिम प्रदायक छनौट गर्न बोर्डले टेन्डर आह्वान गरिसकेको छ, मापदण्ड पुगेका तालिम प्रदायक छनौट हुनासाथ छिट्टै यो तालिम सञ्चालन हुने छ’ सूचना अधिकारी पौडेलले भन्नुभयो । 

अहिले बोर्डले काठमाण्डौमा मात्र यो तालिम सञ्चालन गर्ने छ । उपत्यका बाहिर गार्मेन्ट मेशिन अपरेटरको तालिम सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधार भएका प्रदायकहरू पनि निकै कम भएकाले पहिला चरणमा काठमाण्डौबाट यो तालिम सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

देशभरिबाट तालिम लिन आउने सहभागीलाई बोर्डले नै आउने जाने यातायात खर्च समेत उपलब्ध गराउने छ । 

वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका महिलाहरूले बोर्डले प्रदान गर्ने यो सीप तालिम लिन चाहेमा बोर्डको सचिवालय वा आफ्नो जिल्लामा रहेका आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गर्न सकिन्छ । बोर्ड सचिवालयमा ०१५३२०३११ वा ०१५३२०४३३ मा फोन गरेर आफ्नो नाम टिपाउँदै गर्दा हुन्छ । 

सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत देशका ३९ जिल्लामा आप्रवासी स्रोत केन्द्र तथा उप केन्द्रहरू सञ्चालनमा छन् भने अन्य केही जिल्लाहरूमा पनि विभिन्न परियोजना तथा पालिकाहरू आफैँले पनि स्रोत केन्द्र सञ्चालन गरिरहेका छन् ।

यस्ता केन्द्रमा गएर तालिम लिन इच्छुक महिलाहरूले नाम टिपाउन सक्ने र तालिम सञ्चालन हुने बेलामा बोर्डले खबर गर्ने निर्देशक तथा सूचना अधिकारी पौडेलले बताउनुभयो । यस्तै प्रकृतिको निःशुल्क आवासीय सीप तालिम सुरक्षित आप्रवासन सामी कार्यक्रममार्फत पनि प्रदान हुँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया