कमाउन खाडी गएका त दुई चार वर्षमा देश फर्केलान्, भविष्य बनाउन देश छाड्ने हाम्रा सन्तान फर्केलान् त ?

 भदौ २८, २०८० बिहीबार ११:३७:२९ | नारायण कोइराला
unn.prixa.net

देशमा गणतन्त्र आउँदा नागरिकको मनमा पलाएको आशाको दियो अहिले लगभग निभेको छ ।

त्यो बेला लाग्थ्यो । अब देश विकास हुन्छ । अब यहाँ नागरिकलाई दुःख दिने र नागरिकको भलो नचाहने कोही छैनन् । अब देशमै कलकारखाना खुल्ने छन् । रोजगारीका अवसर नेपालमै हुनेछन् । अब कुनै डर र अभावले देश छाड्न पर्दैन भनेर सायद मजस्ता धेरै युवालाई लागेको थियो होला । तर अहिले यो आशा निराशामा परिणत भएको छ ।

धेरै परदेशीले सोच्थेँ मजस्तो मेरो सन्तान देश छाडेर परदेशीन नपरोस् । देशमै केही गरुन् र उनीहरूलाई देशमै केही गर्ने वातावरण सरकारले बनाउने छ भन्ने लाग्थ्यो । भोलिको सुन्दर भविष्यको कल्पनामा खाडीका देशमा डेढ दशक पसिना बगाइयो । तर सपना त परदेशमा छदा मात्र देखिने रहेछ । देश फर्किए पछिको वास्तविकता त सपनामा पनि देख्न नपरोस् जस्तो लाग्छ थालेको छ । 

देशमा भ्रष्टाचार मौलाउँदो छ । महँगीले गरिब दुःखीलाई त उठ्नै नसक्ने गरी थला पारेको छ । विदेशमा भएकाहरू देश फर्किएर बेरोजगार हुने र अलिअलि कमाएको पैसा सकिनेभन्दा दोस्रो विकल्प छैन । 

त्यसैले पनि होला अहिले देश छाडेर परदेश ताक्नेहरूको लर्को झन् झन् लामो हुँदै गएको छ । सायद देश फर्किनेको सङ्ख्या त निकै कम होला । त्यसैले पनि सरकारले देश फर्किने कति छन् भनेर भन्दैन । 

अहिले बालबालिका, किशोर किशोरी र उमेर हदले भ्याएसम्म सबै जना देशमा बस्ने सपना कोही देख्दैनन् । हर कोही को सपना र बिपना विदेश नै छ । चाहे पढ्ने बहानामा होस् या चाहे काम गर्न खाडी नै किन नहोस् तर देशको सपना देख्ने मानिस भेट्न मुस्किल छ ।

यसको दोष यो देश चलाउनेहरूलाई दिँदा पनि सायद म गलत हुँदिनहोला जस्तो लाग्छ । देशमै अवसर पाएको भए को परदेशिन चाहन्छ र ? 

देशमा जता हेर्‍यो त्यतै निराशा छ । 

गरिब दिनहुँ विभिन्न बहानामा मरिरहेका छन् । तर यो देशमा एउटा यस्तो वर्ग छ जसले देश चलाउँछन् । सारा शक्तिको प्रयोग गर्छन् । उनीहरूका लागि हरेक सुख र सुविधा छ । हामी गरिब नागरिकलाई त हातमुख जोर्न पनि खाडी जानु पर्ने बाध्यता छ । किनकि शक्ति नहुनेहरू यहाँ भोकै मर्ने अवस्था आएको छ ।

अहिले विमानस्थलको दृश्य हेर्दा देश रित्तिँदै छ कि भन्ने भान हुन्छ । दैनिक हजारौँ श्रमिक विदेशी भूमिमा पसिना बगाउन हिँडिरहेका छन् । 

अहिले त विमानस्थलमा काम गर्न विदेश जानेको जत्तिकै लाइन पढ्ने बहानामा देश छाड्नेहरूको पनि छन् । भर्खर १२ कक्षा पास गरेका युवायुवतीले देश छाडेको दृश्य देख्दा मन पोल्छ । यसमा उनीहरूको पनि गल्ती छैन । किनकि देशमै अवसर र सम्भावना देखेको र भेटेको भए उनीहरू पनि बालखैमा किन परदेश लाग्थ्यें होलान् र । 

खाडीमा काम गर्न हिँडेको एउटा नेपाली त दुई चार वर्षमा पक्कै देश फर्किन्छ । तर पढ्न हिँडेकाहरूको सपना पढिलेखी देश फर्किने भन्दा पनि आफ्नो सपनाको देशमै भविष्य जमाउने छ । उनीहरू सायदै पढेर देश फर्किएलान्। 

पढेलेखेका, हातमा सीप भएका र युवा पिँढी नै देशमा नभएपछि देशको अवस्था कस्तो होला ? कल्पना गर्दा मात्रै पनि डर लाग्छ । तर यो डर लाग्नु पर्नेहरूलाई लागेको छैन ।

यो अवस्थामा उनीहरूलाई देशभित्रै रोक्ने नीति खोइ ? विदेशबाट फर्केकालाई फेरि वैदेशिक रोजगारीकै बाटो रोज्न नपर्ने वातावरण खोइ ? यहाँ त कुरा मात्र गरिन्छ । तर कुराले नेताको राजनीति चल्छ तर मान्छेको जीवन चल्दैन । आफ्नो बाटो नरोजी सुखै छैन । 

विमानस्थल पुग्दा अचम्म पनि लाग्छ । विमानस्थलको अगाडि तस्बिर खिच्ने ठाउँ नै बनाएको हो कि जस्तो लाग्छ । 

जानेहरूलाई बिदाइ गर्दा सम्झनाको तस्बिर खिच्नु नराम्रो त होइन । तर आमाबुवासँग अँगालो मारेर विदेश पढ्न जाने विद्यार्थीले खिच्दै गरेका तस्बिरले मन रुवाउँछ । देश छाडेर जानेहरूले पनि आफ्नो धरातल यही तस्बिरमा देख्छन् होला । अनि आफ्नो भविष्य बनाउन दिनरात खट्छन् । 

आफ्नो काखको सन्तानलाई बिदाइ गर्दा मन कस्तो हुन्छ त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ । संसार शून्य हुन्छ । देखाउन पो भएको छैन त । रुन पनि सोच्न पर्छ ।

यो आजका दिनमा हरेक बुवा आमाको बाध्यता हो । मनको पीडा हो । आफ्नो सारा सम्पत्ति लगानी गरेर एउटा तस्बिर साथमा राखी पराई देशमा सन्तान पठाउन परेको छ ।

तपाईको प्रतिक्रिया