वैदेशिक रोजगारीमा कसरी सुरक्षित तरिकाले जान सकिन्छ ? के के कुरामा ध्यान दिनुपर्छ ?

 असोज ५, २०८० शुक्रबार १४:८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

 १) घर परिवारसँग सल्लाह, छलफल र परामर्श गरेर सहमतिमा वैदेशिक रोजगारीमा जाने निर्णय गर्ने ।

सबै भन्दा ठूलो कुरा घर परिवार हो । घर परिवारसँग पर्याप्त छलफल र सल्लाह गरेर मात्र वैदेशिक रोजगारीमा जाने निर्णय लिनु पर्छ । तपाई नहुँदा घरमा पर्न सक्ने अप्ठेरोहरू के के हुनु सक्छन् आदि इत्यादि विषयमा धेरै भन्दा धेरै सरसल्लाह गर्नुपर्दछ ।   विदेशमा कमाएको रकमले नेपालमा दिगो आयआर्जनमा सिर्जना गर्न के गर्ने भनेर वैदेशिक रोजगारीमा जानु अघि नै परिवारसँग सहमति गर्नुपर्छ

 २) लाग्ने खर्च र प्राप्त हुने आम्दानीको तुलना गर्ने र फाइदा हुने भए मात्र जाने । महँगो व्याजमा ऋण लिएर विदेश नजाने ।

तपाईँ काम गर्ने विदेश जाँदा लाग्ने खर्च र विदेशमा हुने आम्दानीलाई तुलना गर्नुहोस् । परिवार देश छोडेर विदेश जाँदा पनि तपाईँले खर्च गरे भन्दा बढी आम्दानी हुँदैन र बचत हुँदैन भने वैदेशिक रोजगारीले तनाव र समस्या मात्र थप्छ । ऋण लिनु भएको छ साँवा र व्याज कति हुन्छ र विदेशको आम्दानीले धान्छ धान्दैन भन्ने पनि बिचार गर्नुपर्छ ।

 ३) सीप सिकेर मात्र जाने ।

आफूसँग हातमा सीप छ भने विदेशमा पनि आफ्नो सीप र रुचि अनुसारकै काम छान्नु पर्छ । यदि छैन भने विभिन्न निकाय जस्तै वैदेशिक रोजगार बोर्डले दिने तालिमको बारे जानकारी लिने र उपयुक्त सीप सिक्नुहोस् | सीप सिकेर मात्र जानुहोस् ।

 ४) आफू जाने देश, गर्ने काम र कम्पनीको बारेमा जानकारी लिने ।

आफूले विदेशमा गएर गर्ने काम, हुने कमाई , खाना र बस्ने व्यवस्था, काम गर्नु पर्ने घण्टा, ओभर टाइम काम भत्ता, करार अवधि र त्यो कामका लागि जाँदा लाग्ने खर्चबारेमा राम्ररी जानकारी लिनुहोस् । यस्तो जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत पनि थाहा पाउन सकिन्छ । श्रम मन्त्रालयको कल सेन्टर श्रमाधानमा ११४१ वा १६६००१५०००५ नम्बरमा सम्पर्क गरेर साध्न सकिन्छ ।

देश, कम्पनी, काम गर्ने पद र पेसा, तलब भत्ता अन्य सुविधा र सेवा सर्तहरूबारे  चित्त बुझेमा मात्र राजिखुसी साथ सम्झौता पत्रमा सही गर्नुहोस् र त्यसको एक प्रति आफूसँग राख्नुहोस् । रोजगारदातासँग गरिने करार सम्झौता पत्रमा के कुराहरू लेखिएको छ भनेर राम्रोसँग पढ्नुहोस् ।

विमानस्थलमा फरक फरक सम्झौता गरेका कागज साथमा राखेको पाइएकोले एउटै कम्पनीसँग मात्र सम्झौता गर्नुहोस् । दोहोरो सम्झौता  नगर्नुहोस् । ठगिन सकिन्छ ।

 इजाजत प्राप्त म्यानपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधि भित्र पठाउने र कति लागतमा पठाउने हो यकिन गरी भर्पाई\प्रमाण लिएर मात्र पैसा र पासपोर्ट बुझाउनुहोस् ।

कम्पनीमा काम गर्ने वातावरण कस्तो छ, करार सम्झौता अनुसार सेवा सुविधा दिन्छ दिँदैनन् भन्नेबारेमा जानकारी लिनुहोस् ।

५) विश्वासिलो र इजाजत प्राप्त रोजगारी व्यवसायी (म्यानपावर कम्पनी) छान्ने ।

वैदेशिक रोजगारमा जाँदा कुन संस्थाबाट वा कोमार्फत जाने हो त्यसको बारेमा यथेष्‍ठ जानकारी राख्नुहोस् । एजेण्टमार्फत वा अन्य कोही गैरकानुनी व्यक्तिबाट जाने प्रयत्न नगर्नुहोस् ।

ठगिने र विदेशमा अलपत्र पर्ने प्रबल सम्भावना रहन्छ । कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर चेन्जर, एजेण्ट वा कोही व्यक्तिलाई वैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्त छैन । यस्ता कोही कसैलाई पनि विश्वास गरेर रकम नदिने । किनकि ठगिने सम्भावना बढी हुन्छ ।

आफ्नो हातमा भएको सीप अनुसार कुन देशबाट कामको माग कुन म्यानपावरले ल्याएको छ बुझ्नुहोस् । यस्ता विवरण www.dofe.gov.np बाट प्राप्त गर्न सकिन्छ । अनि मात्र थप प्रक्रियाका अघि बढाउन सहमति जनाउनुहोस् । कोही कसैले त्योभन्दा यो काम राम्रो छ भन्दै ललाइ फकाइमा पार्न सक्छन् । त्यसैले म्यानपावर कम्पनी वा अरू कसैले भनेको भरमा काम र देशको छनौट नगर्नुहोस् ।

६) म्यानपावर कम्पनीलाई पैसा बुझाएपछि ब्यहोरा खुलाई भर्पाई वा प्रमाण लिने अथवा बैंक खातामा रकम जम्मा गर्ने (भर्पाई वा प्रमाण दिन आनाकानी गरे ठगी गर्ने नियत रहेको बुझ्नुपर्छ ) ।

आफ्नो नाममा भिसा प्राप्त भई वैदेशिक रोजगारमा जाने निश्चित भएपछि म्यानपावर कम्पनीको बैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनु पर्छ । रकम बुझाउँदा कैफियत\प्रयोजनमा वैदेशिक रोजगारी भनेर खुलाउन पर्छ ।

कारोबार गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नु पर्छ। हातमा रकम दिँदा भोलिका दिनमा ठगीमा परियो भने आफूसँग प्रमाण हुँदैन । अन्य तरिकाले यदि रकम बुझाएको छ भने पनि भर्पाई\प्रमाण अनिवार्य रूपमा लिनु पर्छ । पूर्व स्वीकृति अनुसारको विज्ञापनमा उल्लेख भएकोभन्दा बढी रकम कसैलाई पनि दिनु हुँदैन । ।

७) विदेश जानु पूर्व लिनु पर्ने अभिमुखीकरण तालिम लिने (सीप, अभिमुखीकरण र स्वास्थ्य परीक्षा सम्बन्धी नक्कली कागजात नबनाउने) ।

विदेश जानु अघि स्वीकृत अभिमुखीकरण संस्थामा गई अनिवार्य रूपमा दुई दिनको अभिमुखीकरण तालिम तथा जाने देशको श्रम कानुन सम्बन्धी जानकारी  लिनुहोस् ।

यो अभिमुखीकरण तालिमबाट आफू जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रम सम्बन्धी सामान्य कानुनी प्रावधान लगायतका थुप्रै विषयमा जानकारी पाइन्छ ।

८) श्रम स्वीकृति लिएर मात्र जाने । श्रम स्वीकृति लिँदा प्राप्त हुने युजरनेम र पासवर्ड सुरक्षित राख्ने । फेरि श्रम स्वीकृति लिँदा वा नवीकरण गर्दा चाहिन्छ ।

सबै खाले श्रम स्वीकृति अनलाइनबाटै लिन मिल्ने व्यवस्था छ । अनुमति प्राप्त रोजगार व्यवसायी(म्यानपावर कम्पनी) मार्फत वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने तपाईँको श्रम स्वीकृतिको सबै प्रक्रिया सम्बन्धित म्यानपावर कम्पनीले नै गरिदिन्छ ।

यदि व्यक्तिगत पहलमा जाँदै हुनुहुन्छ भने वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली https://feims.dofe.gov.np मार्फत अनलाइनबाटै श्रम स्वीकृति लिन सकिन्छ । आफैँले अनलाइन आवेदन दिन समस्या भएमा आफ्नो पालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएर पनि श्रम स्वीकृतिको आवेदन दिन सकिन्छ ।

श्रम स्वीकृतिको सबै प्रक्रिया अनलाइनबाट नै हुन्छ | यसको प्रक्रिया वैदेशिक रोजगार कार्यालय काठमाण्डौ, सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालय तथा सम्बन्धित दूतावासहरूले नै गर्ने भएकाले पुनः श्रम गर्दा केही समस्या भएमा सम्बन्धित दूतावासहरूमार्फत पनि सहजीकरण हुन्छ ।

जसले गर्दा नेपाल नै आउनुपर्ने झन्झट हटेको छ । साथै पालिकामा रहेको रोजगार सेवा केन्द्रले पनि श्रम स्वीकृति लिन कुनै समस्या भएमा तपाईँलाई सहयोग गर्छन् । पछिल्लो समय त पालिकामा रहेका रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिको आवेदन भरिदिने गरेका छन् ।

श्रम स्वीकृति लिँदा अभिमुखीकरण तालिम, विदेशमा गर्ने कामको सम्झौता, बिमा र स्वास्थ्य परीक्षण हुने हुँदा वैदेशिक रोजगार बढी सुरक्षित हुन्छ । श्रम स्वीकृति लिँदा नै तपाईँले सामाजिक सुरक्षा नम्बरसमेत प्राप्त गर्नुहुन्छ । नम्बर प्राप्त भएपछि नियमअनुसार कोषमा योगदान रकम पनि जम्मा गर्नुहोस् ।

९) वैदेशिक रोजगारीमा जाने क्रममा तयार हुने कागजपत्रहरू जस्तै करार, भिसा, बिमा, श्रम स्वीकृति, पासपोर्ट आदिको एकप्रति फोटोकपी गरेर परिवारका सदस्यलाई छाडिदिनुहोस् र एकप्रति आफूसँग  पनि राख्नुहोस् ।

आफू काम गर्न जाने देशमा रहेको नेपाली दूतावासको सम्पर्क नम्बर र ठेगाना, श्रम कल सेन्टरको नम्बर,  यदि तपाईँको जिल्लामा आप्रवासी स्रोत केन्द्र छ भने स्रोत केन्द्रको सम्पर्क नम्बरका साथै श्रमिकलाई सघाउने देश तथा विदेशमा रहेका अन्य सहयोगी संघसंस्थाहरुको फोन, वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको टेलिमेडिसिन सेवाको नम्बर, इमो, भाइबर नम्बर डायरी वा नोट कपीमा लेखेर सुरक्षित राख्नुहोस् र यस्ता नम्बर परिवारलाई समेत छाडिदिनुहोस् ।

१०) काम गर्न जाने देशको भौगोलिक अवस्था, हावापानी, रहनसहन, धर्म, कानुन, काम गर्ने वातावरण, ट्राफिक नियम आदिको बारेमा पनि जानकारी राख्नुहोस् ।

११) लुकीछिपी वा नेपाल सरकारले प्रतिबन्ध लगाएका देशहरूमा काम गर्न नजाने  ।

अनुमतिप्राप्त वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) मार्फत साइप्रस र जोर्डन बाहेक महिला श्रमिकलाई घरेलु कामको लागि जान सरकारले रोक लगाएको छ ।

लुकीछिपी वा सरकारले प्रतिबन्ध लगाएका देश जाँदा कानुनी कारबाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौता बमोजिम काम नपाउने, उद्धार गर्न कठिन हुनुका साथै कल्याणकारी कोष, बिमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधाबाट समेत वञ्चित हुने हुँदा विशेष होस पुर्‍याउनुहोस् ।

१२) आफ्नै देशको विमानस्थल प्रयोग गरेर जाने।

कामको लागि विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नु पर्छ । अन्य तेस्रो देश हुँदै जाँदा ठगिने सम्भावना हुन्छ । श्रम स्वीकृतिको निस्सा प्राप्त नहुँदै हवाई टिकट किन्न हुँदैन । यदि कसैले तपाईँलाई ललाइफकाइ लैजाँदै छ भने स्थानीय प्रहरी, पालिका, वैदेशिक रोजगार विभाग, आप्रवासी स्रोत केन्द्र, श्रम मन्त्रालयको कल सेन्टर, प्रमुख जिल्ला अधिकारी लगायतलाई खबर गर्नुहोस् ।

यति कुरा जानेर बुझेर विदेश काम गर्न जाँदा विदेशमा दुख पाइँदैन ।

तपाईको प्रतिक्रिया