वैदेशिक रोजगारीको क्रममा आत्महत्या गर्ने महिला श्रमिकको सङ्ख्या धेरै

 असोज १२, २०८० शुक्रबार १७:४७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको क्रममा पुरुषको तुलनामा महिला श्रमिकले बढी आत्महत्या गर्ने गरेको पाइएको छ ।

प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले गरेको एक अध्ययनले वैदेशिक रोजगारीको क्रममा पुरुषको तुलनामा महिला श्रमिकले बढी आत्महत्या गर्ने गरेको देखाएको हो । 

पीएनसीसीमा ९ वर्षको अवधिमा दर्ता भएका मृत्यु सम्बन्धी १९ सय १९ केशहरूको विश्लेषण गरी गरिएको अध्ययनमा आत्महत्या गर्ने पुरुष श्रमिकको सङ्ख्य ९ प्रतिशत रहेको छ भने महिलाको सङ्ख्या २४ प्रतिशत रहेको छ ।

यो तथ्याङ्कले वैदेशिक रोजगारीमा गएका श्रमिकको मानसिक स्वास्थ्य चिन्ताको विषय बनेको औँल्याएको छ ।

आत्महत्या गर्नेको सङ्ख्या जोर्डनमा धेरै

यो अध्ययनले रोजगारीको क्रममा जोर्डनमा आत्महत्या गर्नेको सङ्ख्या धेरै रहेको देखाएको छ । यो अवधिमा जोर्डनमा आत्महत्या गर्नेको सङ्ख्या ६६.७ प्रतिशत रहेको पाइएको छ ।

पीएनसीसीले अध्ययनमा समावेश गरेका केशहरूमा अन्य देशमा जस्तो जोर्डनमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना र बिरामीको कारण ज्यान गुमाउनेहरूको सङ्ख्या शून्य प्रतिशत छ भने प्राकृतिक कारणले ज्यान गुमाउनेको सङ्ख्या ३३.३ प्रतिशत रहेको छ । 

जोर्डनमा विशेष गरी गार्मेन्ट मेशिन अपरेटरको काममा महिला श्रमिकहरू जाने गरेका छन् । जोर्डन र नेपालबीच शून्य लागतमा श्रमिकहरू लैजाने गरी श्रम सम्झौता नै भएको छ । श्रमिकको विभिन्न हकहितसहित श्रम सम्झौता नै भएको देशमा नेपाली श्रमिकको मृत्युको कारण आत्महत्या बन्न पुगेको छ । 

जोर्डनपछि आत्महत्या गर्ने श्रमिकको सङ्ख्या ओमानमा धेरै रहेको छ । यो अवधिमा ओमानमा २० प्रतिशतले आत्महत्या गरेका छन् ।

यस्तै साउदीमा ८.९ प्रतिशतले, यूएईमा ८.४ प्रतशत, कतारमा ९.७ प्रतिशत, कुवेतमा ५.४ प्रतिशत र मलेसियामा ७.९ प्रतिशत श्रमिकले आत्महत्या गरेको अनुसन्धानले देखाएको छ । 

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने श्रमिकको मृत्युको प्रमुख कारण प्राकृतिक कारण लेख्ने गरेको पाइएको छ । अध्ययन अनुसार रोजगारीको क्रममा ज्यान गुमाएका मध्ये ६४ प्रतिशत श्रमिकको मृत्युको कारण प्राकृतिक कारण लेखिएको छ । 

वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार बितेका झण्डै १५ वर्षमा १२ हजारभन्दा धेरैले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् । बोर्डले आर्थिक सहायता उपलब्ध गराएको तथ्याङ्क अनुसार २०६५ देखि २०८० भदौसम्ममा वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका १२ हजार ३५७ जनाले ज्यान गुमाएका छन् ।

यो सङ्ख्या श्रम स्वीकृति लिएर जानेहरूको मात्रै हो । अवैध प्रक्रिया तथा माध्यमबाट वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउनेको सङ्ख्या बोर्डले राख्दैन । 

ज्यान गुमाउनेमा सबैभन्दा धेरै मलेसिया गएका श्रमिक रहेका छन् । मलेसियामा ३१.८९ प्रतिशत नेपालीले ज्यान गुमाएका छन् भने साउदीमा २७.१९ र कतारमा १९ प्रतिशतले ज्यान गुमाएको बोर्डले जनाएको छ । 

तपाईको प्रतिक्रिया