स्वदेश फर्कन नेपालीहरू तेलअभिभ विमानस्थलमा, भन्छन् : घाइते साथीहरूको उपचार र हराएको साथी पनि खोजिदिनुहोस्

 असोज २५, २०८० बिहिबार १३:३१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालबाट जहाज लिन गएपछि नेपाली विद्यार्थीहरू तेलअभिभ विमानस्थल पुगेका छन् ।

विमानस्थल पुगेपछि तस्बिर सेयर गर्दै विद्यार्थी लुइस रिजालले लेख्नुभएको छ ‘हामीलाई त जीवन दान गरेर सकुशल नेपाल  पठाउनु  भयो, अब इजरायलमा भएका घाइते मेरा प्रिय साथीहरूलाई हरदम साथ र सहयोग गरिदिन र मेरो हराएको साथीलाई पनि खोजेर नेपाल आमाको अधुरो कोख भरिदिनु हुनेछ भन्ने आशा राखेका छौ ।’

रिजालले दुःखको घडीमा आफूहरूलाई साथ, सहयोग हौसला र आत्मविश्वास प्रदान गर्ने सबैलाई धन्यवाद दिँदै स्वदेश फर्कनका लागि आफूहरू जहाज कुरिरहेको आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ । 

लुइससहित स्वदेश फर्कन इजरायलको तेलअभिभ विमानस्थलमा २५० जना नेपाली पुगेका छन् । विमानस्थलमा अहिले पासपोर्ट सङ्कलन भइरहेको छ । सरकारले स्वदेश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो ।

जहाज जोर्डनको आकाशमाथि पुग्न लागेको छ । अबको केही समयमा नेपाल एयरलाइन्स इजरायलको तेलअभिभ विमानस्थल पुग्ने छ ।

युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरूलाई अहिले विमानस्थलमा ल्याइएको हो ।

पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि आउँदै छन् । धनबहादुर चौधरी आक्रमणबाट घाइते हुनुभएको छ । उहाँ उपचारकै क्रममा हुनुहुन्छ । 

आक्रमणमा परि घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् । १७ जनाको समूहमा भएको आक्रमणमा परी १० जना नेपालीको ज्यान गएको थियो ।

तस्बिर सबै : लुइस रिजालको फेसबुकबाट

तपाईको प्रतिक्रिया