नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

 बैशाख १२, २०८१ बुधबार १३:४४:९ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेपाल र कतारबीच आठ वटा क्षेत्रमा सहकार्य गर्ने समझदारी तथा सम्झौता भएको छ । सरकारीस्तरबाट छ वटा र निजी क्षेत्रबाट दुई वटा गरी आठ वटा समझदारी तथा सम्झौता भएकाे परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि दुई देशका मन्त्रीहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गर्नुभएको छ ।

कतार र नेपालका राष्ट्रिय समाचार संस्थाहरूबीच समाचार आदानप्रदान र सहकार्यसम्बन्धी सम्झौता भएको छ । यस्तै दुई देशका संस्कृति र कलाको प्रवर्द्धन गर्नेसम्बन्धी समझदारी पत्र, शिक्षा तथा उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानसम्बन्धी समझदारी पत्र, युवा र खेलकुद सहकार्यसम्बन्धी समझदारी पत्र र दुई देशका महान्यायाधिवक्ताको कार्यालयबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस्तै नेपालको इन्स्टिच्युट अफ फरेन अफेअर्स र कतारको कुटनीतिक निकायबीच कर्मचारीलाई तालिम आदानप्रदान गर्ने विषयमा पनि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सरकारीस्तरमा भएका यीबाहेक दुई देशका निजी क्षेत्रबीच दुई वटा सम्झौता भएका छन् । निजी क्षेत्रको तर्फबाट भएका सम्झौतामा नेपालको तर्फबाट उद्योग वाणिज्य महासङ्घ र कतारका तर्फबाट पनि कतारका निजी क्षेत्रका व्यवसायीहरूको संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

यस पटक कतारका राजाको भ्रमण हुँदा नेपालले सन् २००५ मा दुई देशले हस्ताक्षर गरेको श्रम सम्झौताको नवीकरण चाहेको थियो । पूर्णकालीन बीमा, कामदारको ज्यालावृद्धिजस्ता विषय समेट्ने सम्झौताका कतिपय विषय टुङ्गो नलागेकोले थाती राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्झौता गर्नुअघि कतारका राजा थानीसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न र इजरायलमा रहँदा हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइका लागि सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

यस्तै नेपालमा कतारबाट हुन सक्ने लगानी र श्रम क्षेत्रमा थप सहकार्यका बारेमा पनि छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले कतारका राजालाई पूर्वाधार, ऊर्जा, शिक्षा र यातायातजस्ता क्षेत्रमा नेपालमा लगानीका लागि अनुरोध गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया