Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

325th Desh Paradesh 2018-09-18

कार्यक्रम देश परदेशको अंक ३२५ परदेशबाट फर्केर स्वदेशमा नै रोजगार बन्न खोज्नेहरुका समस्यामा केन्द्रित छ । स्वरोजगार भएका व्यक्तिका अनुभव सँगै देशभित्रै अवसर खोज्न फर्केका युवा किन टिक्दैनन् भन्ने कारणको खोजीनीति गरिएको सामग्री कार्यक्रममा सुन्न सकिन्छ । अनि, गाउँमै रोजगार सिर्जना गर्न जुटेका रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारसित गरिएको कुराकानी कार्यक्रममा सुन्नु हुनेछ । नियमित स्तम्भ दिदीबहिनीका कुरामा गाउँमै बसेर विदेश गएका श्रीमान जत्तिकै कमाइ गरिरहेकी सर्लाहीको लालबन्दीकी पार्वता श्रेष्ठका अनुभव समेटिएको छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ ।