आँबुखैरेनीकाे हाटबजारमा स्थानीय महदेखि सिस्नुसम्म

 चैत १७, २०८० शनिबार १८:२८:४५ | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालित हाटबजारमा स्थानीय उत्पादनले बजार पाउन थालेको छ । गाउँपालिकाको सक्रियतामा प्रत्येक शुक्रबार सञ्चालन हुने हाटबजारमा स्थानीय उत्पादनले बजार पाएपछि किसान खुशी भएका छन् ।

हाटबजारमा मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायत दैनिक उपभोग्य वस्तु किनबेच हुने गरेको छ । हाटबजारमा स्थानीय उत्पादन बिक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाटबजार किसान र उपभोक्ता जोड्ने राम्रो माध्यम बनेको छ । उपभोक्ताले आफूले चाहेका उपभोग्य वस्तु एकै ठाउँमा किन्न पाएका छन् भने किसानले उत्पादित वस्तु बिक्री गर्ने ठाउँ पाएका छन् ।’ प्रत्येक शुक्रबारे हाटमा उपभोक्ताको भीड हुने केसीको भनाइ छ । हाटबजार सञ्चालन हुने दिन के–के वस्तु आउँदैछ भनेर उपभोक्ताले पहिल्यैदेखि सोधखोज गर्ने गरेको उहाँले बताउनुभयो ।

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका मह उत्पादक किसान सुकबहादुर गुरुङले हाटबजारले गर्दा महले बजार पाएको बताउनुभयो । उहाँकाअनुसार मह प्रतिकेजी एक हजार रुपैयाँमा बिक्री भइरहेको छ । स्थानीय कृषक ममिता गुरुङले पनि हाटबजार सञ्चालनले मह बिक्री गर्न सजिलो भएको बताउनुभयो ।

छिम्केश्वरीका किसान लक्ष्मण गुरुङलाई गाउँमा उत्पादित साग हाटबजारबाट बिक्री वितरण गर्न सहज भएको छ । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको फागुनदेखि हाटबजार सञ्चालन गरेको हो । गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । चुमानकाअुसार वार्षिक दश लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको हो ।

गाउँपालिका भित्रका जुनसुकै वडाका किसानले आफूले उत्पादन गरेका सामग्री हाटमा ल्याएर बेच्न सक्ने उहाँको भनाइ छ । किसानले उत्पादन गरेका सामग्री बिक्री नभए गाउँपालिकाले जिम्मा लिने निर्णय गाउँपालिकाले जनाएको छ । यसले गर्दा किसानलाई कृषि पेसामा लाग्न प्रेरणा मिल्ने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अध्यक्ष चुमानको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया