ज्येष्ठ नागरिकमा हुने स्वास्थ्य समस्यालाई सामान्य नठान्न डाक्टरको आग्रह

 चैत १७, २०८० शनिबार १८:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ज्येष्ठ नागरिक हुने स्वास्थ्य समस्यालाई सामान्य ठान्दा अबस्था जटिल हुने गरेको डाक्टरले बताएका छन् । ज्येष्ठ नागरिकमा हुने समस्यालाई बुढौलीका कारण आएको समस्या तथा सामान्य समस्या ठानेर अस्पताल लैजान ढिला गर्दा अवस्था निकै जटिल बन्ने गरेको ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर अनन्त अर्यालले बताउनुभयो ।

डाक्टर अनन्त अर्यालकाअनुसार बालबालिकालाई जस्तै ज्येष्ठ नागरिकको स्वास्थ्यमा पनि संवेदनशील हुनुपर्ने खाँचो छ । ज्येष्ठ नागरिकमा देखिने धेरैजसो समस्या शुरुवाती चरणमै उपचारको पहुँचमा पुगेमा निको हुने उहाँले बताउनुभयो ।

कतिपय रोग निको नभए पनि त्यसलाई व्यवस्थापन गरेर जीवनयापनलाई सहज बनाउन सकिने भएकोले ज्येष्ठ नागरिक बिरामी पर्दा समयमै उपचार गर्नुपर्ने उहाँको भनाई छ । यस्तै ज्येष्ठ नागरिकले पनि बुढौली भयो भनेर घरमा बसिरहने भन्दा आफूलाई सक्रिय बनाएमा रोगले कम च्याप्ने भएकोले आफूलाई सक्रिय बनाउन ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर अर्यालको सुझाव छ ।

नेपालमा ज्येष्ठ नागरिक अर्थात् पाको उमेरको जनसङख्या बढ्दो छ । औषत आयु बढेको कारण ज्येष्ठ नागरिकको सङ्ख्या पनि बढेको हो । तर ज्येष्ठ नागरिकको हेरचाह र स्वास्थ्य उपचारमा समस्या बढिरहेको छ । छोराछोरी टाढा हुँदा उपचार झनै जटिल बनेको छ ।

गाउँघरमा खेतीबाली गर्न छोड्ने क्रम बढेको, शहर केन्द्रित हुन थालेको, तनाव व्यवस्थापन गर्न गाह्रो हुने, खानपान नमिल्नेलगायतका कारण उमेरसँगै शारीरिक वा मानसिक समस्या पनि बढ्दै गएका डाक्टर अर्यालको भनाई छ । उमेर बढ्दै गएपछि उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, आँखाको मोतिबिन्दु, डिमेन्सिया, हड्डी खिइनेलगायत समस्या देखिने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया