मधेश केन्द्रित दलको मोर्चाबन्दीका लागि जनमत पार्टीले कार्यदल बनायो
पुस २२, २०८१ सोमबार
रामेछाप – रामेछापका निरबहादुर रामले म्यानपावरले जबरजस्ती राखेको पासपोर्ट ७ महिनापछि फिर्ता पाउनुभएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण शर्माले गरेको एक कल फोनपछि काठमाडौंको स्काइ अफ द वल्र्ड प्रालिले निरबहादुरलाई पासपोर्ट फिर्ता दिएको हो ।
निरबहादुरले मलेसिया जान पासपोर्ट दिएपछि म्यानपावरले उहाँसँग ८० हजार रुपैयाँ लाग्ने बताएको थियो । निरबहादुरले सरकारले मलेसियासहित खाडीका देशमा सरकारले फ्रि भिसा फ्रि टिकट लागू गरेको भन्दै त्यति धेरै पैसा नदिने बताउनुभयो ।
त्यही क्रममा सरकारले मलेसियामा कामदार पठाउन रोक लगाएको थाहा पाएपछि आफू नजाने भन्दै पासपोर्ट फिर्ता माग्नुभएको थियो । तर म्यानपावरले सरकारले छिट्टै मलेसिया जान दिने भन्दै फिर्ता गर्न मानेको थिएन ।
केही महिनापछि म्यानपावरले भिसा आइसकेको भन्दै नजाने भए ३० हजार रुपैयाँ दिनुपर्ने शर्त राखेको थियो । म्यानपावरले पासपोर्ट दिन नमानेपछि उहाँले जिल्ला प्रशासन कार्यालयकै हाताभित्र रहेको सूचना केन्द्रमा निवेदन दिनुभएको थियो ।
केन्द्रको पहलमा म्यानपावरलाई फोन गरेर पासपोर्ट फिर्ता नदिए कारबाहीका लागि विभागमा पत्र पठाउने बताएपछि विनाशर्त म्यानपावरले पासपोर्ट फिर्ता दिएको हो ।
मलेसिया जान खोज्नुअघि निरबहादुर कतार पुगेर फर्कनुभएको थियो । २७ महिना कतारको तातो घाममा पसिना बगाएर फर्केका निरबहादुरले परदेश नजाने निधो पनि गर्नु भएको थियो ।
उहाँ २०७१ सालमा ७० हजार रुपैयाँ बुझाएर कतार पुग्नुभयो । कतार टेक्दै गर्दा आफूलाई हाँसेर स्वागत गरेको जस्तो लागेको थियो निरबहादुरलाई । तर लेबरको काम गर्दा घामले भने गिज्याएजस्तो लाग्यो ।
परिवारको मायाबाट टाढा कतारमा निरबहादुरले त्यहाँ पुगेको एक महिनामै बुवाले सधैंलाई छोडेर गएको खबर सुन्नुपर्यो । ‘५५ डिग्रीको काममा काम गर्दा बरु त्यति पीडा भएको थिएन, बुवाको मृत्युको खबरले सम्हालिनै गाह्रो बनायो’ निरबहादुरले कतारमा छँदाको तीतो क्षण सुनाउनुभयो ।
उत्साहित भएर गएका निरबहादुरलाई कतारको काम र त्यहाँको वातावरणले गलाउँदै लग्यो । काम गर्ने क्रममा देब्रे हातका दुई वटा औंला मेसिनले काट्यो ।
दुई वर्षमा नेपाल फर्किँदा निरबहादुरसँग परदेशबाट ल्याएको कोसेली भन्दा दुःखको भारी ठूलो थियो ।
नेपाल फर्किएर काठमाडौंमा ट्याक्सी चलाएर गुजारा चलाउँदै गरेका निरबहादुरले मलेसियामा राम्रो कामको अवसर आएको कुरा साथीबाट थाहा पाउनुभयो । ‘दुई जना छोरीलाई राम्रो स्कूलमा पढाउन र घर खर्च टार्नलाई ड्राइभरी कामले नधानेपछि मलेसिया जाने सोच बनाएको थिएँ’ निरबहादुर भन्नुहुन्छ ।
स्काइ अफ द वल्र्ड म्यनपावरमा सेक्युरिटी गार्डको लागि गएको वैशाखमा पासपोर्ट पेश गर्नुभयो । म्यानपावरले ८० हजार रुपैँया मागेको थियो निरबहादुरसँग । जेठ महिनादेखि मलेसिया जान सरकारले रोक लगायो । मलेसिया जान रोक लागेपछि निरबहादुरले म्यानपावरसँग पासपोर्ट फिर्ता माग्नुभयो ।
तर नदिएपछि उहाँ सूचना केन्द्र पुग्नुभएको हो । केन्द्रकै पहलमा प्रमुख जिल्ला अधिकारीले पहल गरेपछि निरबहादुरले पासपोर्ट फिर्ता पाउनुभयो । ‘म जस्तै कति धेरै पीडित छन् सम्बन्धित ठाउँमा भएका व्यक्तिले यति पहल गरिदिने हो भने हुने रैछ नि’ खुशी हुँदै निरबहादुरले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।