रारामा रिसोर्ट बनाउन अस्ट्रेलियाली लगानी भित्रियो

 बैशाख १७, २०८१ सोमबार १८:२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – हिजोदेखि काठमाण्डौमा शुरु भएको तेस्रो लगानी सम्मेलन आज सकिँदैछ । आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन भएसँगै अहिले केहीबेरमा सम्मेलन सकिने तालिका छ ।

सम्मेलनको अन्तिम दिन आज विभिन्न सम्झौता भएका छन् । नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआईसी) र इन्डियन इन्डस्ट्रिज एसोसिएशन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एफएनआईसीले आजै चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडसँग पनि नेपालमा लगानी सहजीकरणका लागि सहकार्य गर्नेसम्बन्धी हस्ताक्षर गरेको छ ।

यस्तै नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारी भएको छ । लगानी सम्मेलनमा चेम्बरले जलविद्युत्, होटललगायतका क्षेत्रका एक दर्जन योजना ‘सो–केस’ मा राखेको छ ।

यसैगरी मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न खोल्नका लागि अस्ट्रेलियाली लगानी भित्रिएको छ । रिसोर्टमा लगानीका लागि अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्ट प्रालीबीच सम्झौता भएको हो । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–९ मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा झन्डै ७० करोड र दोस्रो चरणमा झन्डै ४० करोड रुपैयाँ बराबर लगानी हुने भएकाे छ ।

यस्तै सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि ‘वर्ल्ड एसोसिएशन अफ पीपीपी युनिट्स एन्ड प्रोफेशनल्स’ (वाप) र ‘नेपाल एसोसिएशन अफ पीपीपी प्रोफेशनल्स अफ प्राक्टिशनर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ ।

यसैबीच अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलन सफल भएको बताउनुभएको छ । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम तथा विभिन्न देशका राजदूतसँगको आजको बैठकमा अर्थमन्त्रीले सम्मेलन सफल भएको बताउनुभएको हो । सम्मेलनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको पुष्टि गरेको उहाँले जिकिर गर्नुभयो ।

यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त देश भएको बताउनुभएको छ । लगानी सम्मेलनका क्रममा ‘सूचना प्रविधि : लगानीको उत्कृष्ट क्षेत्र’ विषयक सत्रमा उहाँले सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपालीमात्र नभई विदेशी लगानीकर्ताका लागि पनि नेपाल उपयुक्त स्थल रहेको बताउनुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया