‘संस्कार शिक्षा’ पढाउँदै स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका

 जेठ ७, २०८१ सोमबार १५:१५:४९ | रासस
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन गराउन शुरु गरेको छ । संस्कार संस्कृति तथा नैतिक शिक्षाको कमीका कारण युवापुस्तामा आफ्नो संस्कारसम्बन्धी ज्ञानको अभाव देखिन थालेको भन्दै पालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन शुरु गरेको हो ।

आफ्ना मौलिक कला, संस्कृति, चालचलनको संरक्षण, संवर्द्धन र पछिल्लो पुस्तालाई संस्कारयुक्त बनाउनका लागि संस्कार शिक्षा पठाउन थालिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । स्थानीय पाठ्यक्रमअन्तर्गत संस्कार शिक्षा उपयुक्त लागेकाले चालू शैक्षिक सत्रको शुरुवातदेखि कक्षा ६, ७ र ८ मा पठनपाठन थालिएको उहाँले बताउनुभयो ।

‘स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा १–५ मा स्थानीय विषयवस्तुलाई समेटेर पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउँदै आएका छौँ’, अध्यक्ष तिवारीले भन्नुभयो, ‘स्थानीय पाठ्यक्रममा समेट्नुपर्ने विषय थोरै भएको र माथिल्ला कक्षामा दोहोरिने भएकाले जीवनोपयोगी शिक्षाको खोजी गर्नेक्रममा संस्कार शिक्षा उपयुक्त लागेकाले यसलाई थालेका हौँ ।’ डा. स्वामी केशवानन्दद्वारा लिखित संस्कार शिक्षा लागू गर्ने देशभरमै पालिकास्तरमा अर्जुनचौपारी पहिलो भएको दाबी उहाँको छ ।

‘पाठ्यपुस्तकमा नैतिक ज्ञानगुनका विषयहरूलाई कथा, कविताका माध्यमबाट प्रस्तुत गरिएको छ । आधुनिक शिक्षाको विकासक्रमसँगै संस्कारयुक्त शिक्षा, नैतिक शिक्षा पछाडि पर्दै गइरहेका छन्’, अध्यक्ष तिवारीले भन्नुभयो, ‘सबैभन्दा पहिला संस्कारयुक्त व्यक्ति निर्माण गर्दै अन्ततः संस्कारयुक्त समाज निर्माण गर्न यो पाठ्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त छौँ ।’

पाठ्यपुस्तक पठनपाठन गर्ने क्रममा यसलाई अझै समयसापेक्ष परिमार्जन गर्दै विषयवस्तुलाई थप गर्दै लैजाने गरी तयारी भएको छ । अर्जुनचौपारी गाउँपालिकाका सामुदायिक र संस्थागत गरी ११ वटा विद्यालयमा चालू शैक्षिक सत्रदेखि संस्कार शिक्षा पठनपाठनमा भइरहेको छ । गाउँपालिकाले याे पाठ्यपुस्तक विद्यार्थीलाई निःशुल्क उपलब्ध गराएको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया