बहुप्रकोपीय पूर्वसूचना प्रणाली कार्यान्वयन गर्न ८१ अर्ब रुपैयाँ लाग्ने

 जेठ ७, २०८१ सोमबार १८:११:५४ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरएमए) ले बहुप्रकोपीय पूर्वसूचना प्रणाली प्रवर्द्धनका लागि ८१ अर्ब रुपैयाँभन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान गरेको छ । बहुप्रकोपीय पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउनका लागि तयारी भइरहेको भन्दै प्राधिकरणले आउँदो सात वर्षमा ८१ अर्ब चार करोड रुपैयाँ (६१४ मिलियन अमेरिकी डलर) लाग्ने अनुमान गरेको हो ।

नेपालमा बाढीसम्बन्धी पूर्वसूचना प्रणालीको विकास भए पनि अरू प्राकृतिक विपत्तिका पूर्वसूचना दिने प्रणाली छैन । पहिलो पटक बहुप्रकोपीय प्रणालीमा आधारित पूर्वसूचना प्रवाह गर्दै विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ सरकारले तयारी थालेको हो ।

प्राधिकारण कार्यकारी प्रमुख अनिल पोखरेलले विपद्जन्य विभिन्न घटनाबाट हुने धनजनको क्षति कम गर्न बहुप्रकोपीय पूर्वसूचना प्रणाली आवश्यक रहेको बताउनुभयो । बाढीजस्तै पहिरो, चट्याङ, वन डढेलो, लु, शीतलहर, हिमपहिरो, हावाहुरी, असिनापानी, वायु प्रदूषणजस्ता प्राकृतिक विपत्तिको विषयमा पूर्वजानकारी दिनेगरी प्रणाली विकास गर्ने उहाँले बताउनुभयो ।

सबै खालका प्रकोपबाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्ने लक्ष्यका साथ बहुप्रकोपीय पूर्वसूचना प्रणाली विकासका लागि सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको कार्यकारी प्रमुख पाेखरेलकाे भनाइ छ । बहुप्रकोपीय सूचना प्रणालीबाट सङ्कलित सूचनालाई सर्वसाधारणले बुझ्ने गरी स्थानीय भाषामा उपलब्ध गराइने उहाँले जानकारी गराउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘अहिलेसम्म हामीले सर्वसाधारणलाई मनसुनी जानकारी र बाढीसम्बन्धी पूर्वसूचना सबैभन्दा बढी मोबाइल एसएमएसको प्रयोगमार्फत सम्प्रेषण गर्दै आइरहेका छौँ । अब थप सूचना सम्प्रेषणलाई पनि व्यवस्थित गर्दै अगाडि बढ्ने योजना बनाएका छाैँ । अब विभिन्न सामाजिक सञ्जाल, स्थानीयदेखि राष्ट्रियस्तरका सञ्चारमाध्यम, मोबाइल एसएमएसलगायत माध्यमबाट सहज भाषामा सूचना प्रवाह गर्ने छाैँ  यसले गर्दा पूर्वसूचनाको प्रभावकारिता थप बढ्न सक्छ र बहुप्रकोपीय घटनाबाट हुनसक्ने क्षति न्यूनीकरण हुने छ ।’

पाेखरेलले प्राकृतिक विपद्को हिसाबले जोखिमपूर्ण परिवारको अध्ययन गर्ने र जोखिमको आधारमा उनीहरूको नक्साङ्कन गर्ने तयारी भएको जानकारी गराउनुभयाे ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले पनि बहुप्रकोपीय पूर्वसूचना प्रणालीमा लगानी बढाउन सकेमा जल तथा मौसमजन्य विपत्तिको प्रकाप न्यूनीकरण प्रभावकारी रूपमा अगाडि बढाउन सकिनेमा जोड दिनुभएको छ । पूर्वसूचना प्रणालीमा लगानी बढाउन सकेमा अझै बढी विश्वासनीय पूर्वसूचना प्रवाह गर्न सकिने उहाँले बताउनुभयो ।

कर्माचार्यका अनुसार अहिले नेपालमा बाढीसम्बन्धी पूर्वसूचनाका प्रणाली १९ र एक सय ७० वटा केन्द्र छन् । 'रियल टाइम' मौसम मापन गर्ने केन्द्र भने दुई सय ९० वटा रहेका रहेको उहाँको भनाइ छ ।

विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले पछिल्लो समय बाढीका पूर्वसूचना प्रणाली विकास भएपछि बाढीजन्य क्षति कम भइरहेको भन्दै अन्य विपद्को पनि पूर्वसूचना प्रणाली विकास गर्न सकेमा क्षति न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयाे । विद्यमान विपद् ऐन, नियमवाली, विपद् व्यवस्थापन तथा न्यूनीकरण नीति, विपद् व्यवस्थापन न्यूनीकरणको संरचना रहेको जनाउँदै उहाँले प्रभावकारी कार्यन्वयन गर्नुपर्नेमा सुझाव दिनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका धेरैजसाे ठाउँमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको छ । यस प्रक्षेपणले यस वर्ष पनि बाढी तथा पहिरोजस्ता मनसुनजन्य घटना बढ्नसक्ने अनुमान गरिएको छ । डा. उप्रतीले आउँदाे मनसुनमा बाढी, पहिरोजस्ता विपद् बढ्नसक्ने जनाउँदै पूर्वतयारी र प्रतिकार्यका लागि समयमा नै सचेत रहनुपर्ने बताउनुभयाे ।

तस्बिर : प्राधिकरण

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया