नीति तथा कार्यक्रममाथिको छलफल सकेर आजै पारित गर्ने सरकारको तयारी

 जेठ ११, २०८१ शुक्रबार ९:३२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रतिनिधिसभा र राष्ट्रियसभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु हुँदैछ । सरकारले सदनमा पेस गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बोलाइएको छ ।

संसदीय समितिको कार्यादेशलाई लिएर सत्तापक्ष र विपक्षीबीच सहमति जुट्न नसक्दा सदनको अवरोधकाबीच सरकारले नीति तथा कार्यक्रममाथि छलफल गर्न लागेको हो । सहकारी अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै कांग्रेसले संसदीय छानबिन समितिको मागसहित संसद् अवरुद्ध गर्दै आएको छ ।

समितिको क्षेत्राधिकारमा सहमति जुट्न नसकेपछि आजको बैठकमा पनि कांग्रेससहित विपक्षी दलहरुको अवरोध कायमै रहने सम्भावना छ । सरकारले विपक्षीहरूको अवरोधकाबीच नीति तथा कार्यक्रममा छलफल चलाएर पारित गर्ने तयारी गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधले सदनमा पेस हुन सकेको थिएन । अवरोधबीच गएको ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै सभामा पेस गर्नुभएको थियो ।

आज संसद बैठक बस्नुअघि संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउन दलहरु छलफलमा जुटेका छन् । हिजो बसेको कार्यदलको बैठकमा सत्तापक्षले संकटग्रस्त सहकारीमा छानबिन गर्ने गरी कार्यादेश बनाउन सकिने तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम किटेर जान नसकिने अडान कायम राखेको छ । कांग्रेसले भने गृहमन्त्री लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान दोहोर्याएको छ । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया