दिवा खाजामा रैथाने बालीकाे प्रयाेग : काेदाेकाे दुनाेटदेखि सिस्नुकाे आइसक्रिमसम्म

 जेठ ११, २०८१ शुक्रबार १८:२२:४७ | रासस
unn.prixa.net

म्याग्दी – म्याग्दीका विद्यालयमा रैथाने बालीका परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ । चाउचाउ, बिस्कुटलगायत तयारी खानाको विकल्पमा विद्यालयले कोदोको दुनोट, केक, पिज्जा, अचार, भटमासको चिया, सेकुवा, अचार, फर्सीको जाम, टमाटरको केचप, सिस्नुको आइसक्रिमलगायतका परिकार प्रयोग गर्न थालेका छन् ।

अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी पुनले विद्यालयमा 'जङ्क फुड' अर्थात् पत्रुखाना निषेध गर्नका लागि १, २, ३ र ६ नम्बर वडाका अभिभावक र चमेनागृह सञ्चालकलाई रैथाने बालीबाट खाजाको परिकार बनाउने सीप सिकाएको जानकारी दिनुभयो । बाँकी चार वटा वडामा पनि पोषणयुक्त खाजा बनाउने ज्ञान र सीप सिकाउने तालिम सञ्चालन गरिने उहाँले बताउनुभयाे । ‘आयातित अस्वस्थ्कर जङ्क फुडको विकल्पमा रैथाने खाद्यवस्तुबाट परिकारको प्रयोगमा जोड दिएका छौँ’, उहाँले भन्नुभयाे ।

बेनी नगरपालिकाको कृषि शाखाले विद्यालयका २० जना चमेनागृह सञ्चालकलाई गएकाे हप्ता कोदो, गहुँ, आलु, भटमास, सिस्नु, फर्सीलगायतका रैथाने बालीबाट खाजाका परिकार बनाउने सैद्धान्तिक तथा व्यावहारिक ज्ञान सीप प्रदान गरेकाे छ । 

धौलागिरि गाउँपालिका–३ मा रहेको धौलागिरि माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपेश सुवेदीले स्थानीय खाद्यान्नबाट हरेक दिन फरकफरक परिकार बनाएर शिक्षक र विद्यार्थीले खाजा खाने गरेका बताउनुभयो । ‘अभिभावक भेलाबाट आइतवारदेखि बिहीवारसम्म खाने खाजाको तालिका नै बनाएका छौँ’, उहाँले भन्नुभयो, ‘खर्चको पनि बचत भएको छ ।’

सरकारले प्रतिविद्यार्थी १५ रुपैयाँका दरले दिवा खाजाका लागि अनुदान दिने गरेको छ । बेनी नगरपालिका–४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयले दिवा खाजाका लागि विद्यालय परिसरको खाली जमिनमा तरकारी खेती गरेको प्रधानाध्यापक रामप्रसाद शर्माले बताउनुभयो ।

बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले अस्वस्थकर परिकारको प्रयोग घटाउन र रैथाने बालीका खाद्यान्न परिकारमा जोड दिएको बताउनुभयो । विद्यालयलाई 'जङ्क फुड' निषेधित क्षेत्र बनाउने तयारी गरेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया